सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि छठ पर्व सुरु भएको छ। छठ पर्वको आगमनसँगै तराईका विभिन्न जिल्लाका गाउँबस्ती तथा बजारमा चहलपहल बढेको छ। चार दिनसम्म श्रद्धा, निष्ठा र भक्तिपूर्वक मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन्।
आस्था र भक्तिको पर्वका रूपमा परिचित छठको स्वागतमा तराईका घरघरमा पारम्परिक छठ गीत गुञ्जिन थालेका छन्। सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले तराईका बस्तीहरू छठमय बनेका छन्।
पर्वको तयारीका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन्। विशेषगरी युवा पुस्ता छठघाट निर्माण तथा आकर्षक सजावटमा सक्रिय देखिएका छन्। घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सिँगार्ने काम भइरहेको छ भने सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन्। धनी, गरिब सबैले आ–आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन्।
छठको आगमनसँगै स्थानीयवासीको दैनिकीसमेत पर्वकेन्द्रित बनेको छ। भेटघाट र कुराकानीदेखि घरायसी कामकाजसम्म छठकै तयारीमा केन्द्रित हुन थालेको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए।
तराईका विभिन्न बजारमा छठ पूजाका सामग्री खरिद गर्नेहरूको बाक्लो भीड लागेको छ। केराका घरीसहित पर्वमा आवश्यक फलफूल तथा पूजासामग्रीको बिक्री बढेको छ। स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका नरिवलजस्ता सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन्। यस्ता सामग्रीको मुख्य कारोबार शनिबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले जानकारी दिए।
यसैगरी, छठ पूजाका सामग्री राख्न बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि बढेको छ। बत्ती बाल्न प्रयोग हुने दियो, दही जमाउने छ्याँची, पूजासामग्री राख्ने टौला तथा पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको व्यापारसमेत फस्टाएको छ। छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँस र माटाका भाँडाको माग बढेको हो।
घरघरमा छठको विशेष प्रसाद तयार पार्ने चटारो पनि उत्तिकै बढेको छ। ठकुवा र भुसुवासहितका परिकार बनाउन गृहिणीहरू व्यस्त छन्। चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ। शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गरिन्छ। भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठको तयारीमा निष्ठा र शुद्धता सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताइन्।
तराईका विभिन्न जिल्लामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ। पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ विधिबाट छठ सुरु भएको छ। दोस्रो दिन भोलि ‘खरना’ गरिन्छ। तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व विधिवत् रूपमा सम्पन्न हुन्छ।
छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्छन्। छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने सामाजिक सद्भावको अनुपम परम्परा छ। सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वले परिवार र समाजमा मङ्गल तथा कल्याण गर्ने जनविश्वास रहिआएको छ।