सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज। यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दिदीबहिनी र दाजुभाइबीच प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा भाइटीका पर्व मनाइँदैछ।
भाइटीकाका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, शान्ति, दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने गर्छन्। टीकापछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्ने चलन छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीका लगाउनका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम साइत रहेको छ। यद्यपि सर्वसाधारणले दिनभर नै टीका लगाउन सक्ने समितिले जनाएको छ। यस वर्ष भाइटीका लगाउँदा टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्नेछ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता रहेको छ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने धर्मशास्त्रीय परम्परा रहेको रहेको छ। भाइटीकाका दिन दियो, कलश र गणेशको पूजा गरी अष्टचिरञ्जीवी, यमराज तथा यमुनाको आराधना गर्ने धार्मिक परम्परा छ। दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री र गोदावरीका माला लगाइदिने तथा ओखर, कटुस, मरमसला र सेलरोटीलगायतका परिकार खुवाउने चलन छ। पौराणिक मान्यताअनुसार यमराज आफ्नी बहिनी यमुनाकहाँ टीका ग्रहण गर्न गएको प्रसंगसँग भाइटीकाको सम्बन्ध जोडिएको छ। यही धार्मिक विश्वासका आधारमा दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध अझ प्रगाढ बनाउने पर्वका रूपमा भाइटीका मनाउने गरिन्छ।