नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

शनिबार, असोज १७, २०८३

नेपालगञ्ज । नवलपरासी(बर्दघाट–सुस्ता पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं जाँदै  गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा शनिबार बिहान पूर्व–पश्चिम राजमार्गबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा गोरखा गोर्खा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती, बाजुरा स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा, बर्दिया राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु रहेका छन्।

त्यस्तै बाजुरा स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्ज्यसोम गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यान बनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी घाइते भएका छन्।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले बसमा सवार घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याएको थियो।

घाइतेहरूको उपचार भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  ०८:१९
प्रतिक्रिया दिनुहोस्