आजको राष्ट्रिय सभा बैठक फेरि स्थगित

आइतबार, असार २४, २०८०
honor mob  winter sales

काठमाडौं । आज बसेको राष्ट्रिय सभाको बैठक फेरि अवरुद्ध भएको छ । नेकपा एमालेका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म सदन चल्न नदिने भन्दै उनीहरुले उभिएर अवरोध गरेका हुन् । 

Honor x7 pad

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुने कार्यक्रम थियो ।  जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमाथिको बजेटमाथि छलफल हुने  कार्यक्रम थियो । 

तर एमालेले बैठक चालु हुन नदिएसँगै आजको बैठक पनि स्थगित भएको छ । बैठक भोलिसम्मका लागि स्थगित भएको हो । गत सातादेखि एमालेले दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले एक प्रसंगमा सोमबार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको बताएपछि त्यसैलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ । 

एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो । एमाले सांसदहरुले प्रचण्डले अब संसदमा आएर स्पष्टीकरण हैन पदबाट राजीनामा नै दिनुपर्ने भनिरहेका छन् । 

यसका कारण संसदमा विभिन्न विधेयकहरु अलपत्र परेका छन् । 

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वार्ताका माध्यमबाटै समस्याको समाधान हुने भन्दै प्रधानमन्त्री स्पष्टीकरण दिने अवसर दिन आग्रह गरिरहेका छन् । तर उनको आग्रहलाई एमालेका सांसदहरुले बेवास्ता गरिरहेका छन् । 

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संसदको आफ्नै मर्यादा र गरिमा हुने भन्दै कति उभिने १५ मिनेट भैसक्यो बस्नुस् भने पनि एमाले सांसदहरु हाँसिरहेका थिए । 

अन्तिममा उनले लगातार चार दिन संसद अवरोध हुँदै आएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई शीर्ष दलहरुसँग संवाद गरी समाधान गर्न भनेका छन् । 

बैठक सोमबार बिहान बस्ने गरी स्थगित भएको छ । 

योसँगै दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठक हुने सम्भावना कम छ । 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्