विश्वप्रकाश भन्छन् - 'पत्रकार छुट्दैमा घटना सकिँदैन', निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने ?

शनिबार, कात्तिक १४, २०८३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति सरकारको जवाफदेहिता माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आज आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना समाप्त नहुने बताएका छन् । उनले पत्रकार पक्राउ गर्ने निर्देशन कसले दिएको हो, त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका हुन।

उनले केही महिनाअघि सञ्चारगृहअगाडि मोटर राखेर आतंक सिर्जना गरिएको घटनाको स्मरण गराउँदै त्यसमा संलग्न व्यक्तिको पहिचान गरी सार्वजनिक गर्न सरकारले चासो नदेखाएको आरोपसमेत लगाए ।

प्रधानमन्त्री कार्यालयले पत्रकार पक्राउमा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएको विषयमा टिप्पणी गर्दै शर्माले प्रश्न प्रधानमन्त्री कार्यालय संलग्न थियो वा थिएन भन्ने मात्र नभई प्रेसमाथि यस्ता गतिविधि हुँदा सरकार जिम्मेवार रूपमा प्रस्तुत हुन्छ कि स्पष्टीकरण दिएर पन्छिन्छ भन्ने रहेको उल्लेख गरेका छन् ।

सत्तारूढ दलले पत्रकारको गिरफ्तारी गैरकानुनी भएको भन्दै प्रतिक्रिया दिएकोमा उनले त्यसलाई सकारात्मक रूपमा लिएका छन् । तर, प्रेस स्वतन्त्रतामाथि हुने गैरकानुनी गतिविधि निरन्तर प्रवृत्तिका रूपमा देखिन थालेको भन्दै उनले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।

शर्माले सत्तारूढ दलको चुनावी घोषणापत्रमा उल्लेख गरिएको प्रेस स्वतन्त्रताको प्रतिबद्धता सरकारले व्यवहारमै कार्यान्वयन र संरक्षण गर्छ कि गर्दैन भन्ने प्रश्नसमेत उठाएका छन् ।

गलत तथा भ्रमपूर्ण समाचारको खण्डन र आवश्यक कारबाहीका लागि निश्चित कानुनी प्रक्रिया रहेको उल्लेख गर्दै उनले त्यसैको अनुसरण गर्न आग्रह गरेका छन् ।

‘हामी स्वतन्त्र तर उत्तिकै मर्यादित प्रेसको पक्षमा छौं,’ उनले लेखेका छन्, ‘संविधानप्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुण्ड्याउने गैरकानुनी धन्दा बन्द गरौं । पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गरोस्।’

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १४:३४
प्रतिक्रिया दिनुहोस्