सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । शुक्रबार साँझ काठमाडौंमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारमाथि प्रहरीले गरेको धरपकड, दुर्व्यवहार तथा नियन्त्रणमा लिने कार्यप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ बाँकेले शनिबार विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस स्वतन्त्रता राज्यको कृपाको विषय नभई संविधानप्रदत्त मौलिक अधिकार भएको उल्लेख गरेको छ।
स्वतन्त्र प्रेसको आवाज दबाउने, पत्रकारलाई त्रसित बनाउने तथा समाचार संकलन र सम्प्रेषणको अधिकारमाथि अंकुश लगाउने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको मर्मविपरीत हुने महासंघको भनाइ छ। पत्रकारमाथि राज्यशक्तिको दुरुपयोग गर्दै गरिएको यस्तो व्यवहारले सरकारको लोकतान्त्रिक प्रतिबद्धता र चरित्रमाथि नै गम्भीर प्रश्न खडा गरेको विज्ञप्तिमा उल्लेख छ।
महासंघले स्वतन्त्र पत्रकारिताको विश्वसनीयतामाथि आँच पुर्याउने, भ्रम सिर्जना गर्ने तथा पत्रकारलाई नै दोषी देखाउने प्रकृतिका घटनाक्रमप्रति पनि राज्य गम्भीर हुनुपर्ने जनाएको छ।
पछिल्लो घटनाको वास्तविकता, पत्रकारमाथि धरपकड गर्नुको कारण र त्यसक्रममा सम्बन्धित व्यक्तिहरूले निर्वाह गरेको भूमिकाबारे निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन हुनुपर्ने महासंघको माग छ। घटनाको सत्यतथ्य सार्वजनिक गरी समग्र पत्रकारिता क्षेत्रलाई आश्वस्त पार्नु राज्यको दायित्व भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै, राज्यका जिम्मेवार निकायहरूले एकअर्कामाथि जिम्मेवारी पन्छाउने, घटनाबारे अनभिज्ञता प्रकट गर्ने वा गम्भीर विषयलाई सामान्यीकरण गर्दै नजरअन्दाज गर्ने प्रवृत्ति स्वीकार्य नहुने महासंघले स्पष्ट पारेको छ। पत्रकारमाथि भएको धरपकडलाई सामान्य प्रशासनिक घटनाका रूपमा व्याख्या गरेर उम्कने छुट कसैलाई नभएको भन्दै दोषीमाथि कारबाही र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन ठोस प्रतिबद्धता आवश्यक रहेको जनाएको छ।
महासंघ बाँकेले पत्रकारमाथिको आक्रमण व्यक्तिमाथिको आक्रमण मात्र नभई नागरिकको सुसूचित हुने अधिकार र लोकतन्त्रको आधारस्तम्भ मानिने स्वतन्त्र प्रेसमाथिकै आक्रमण भएको उल्लेख गरेको छ। प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा महासंघ सदैव दृढतापूर्वक उभिने जनाउँदै आवश्यक परे प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि हुने हरेक आन्दोलन र संघर्षमा सक्रिय सहभागिता र ऐक्यबद्धता रहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।