सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नरैनापुर। जब रात गहिरिँदै जान्छ। गाउँका घरहरूमा बत्ती निभिसकेका हुन्छन्। अधिकांश मानिस आफ्नै संसारमा निदाइरहेका हुन्छन्। तर बाँकेको नरैनापुर गाउँपालिकासँग जोडिएको नेपाल–भारत सीमामा भने अर्कै दृश्य हुन्छ। कसैको हातमा टर्च हुन्छ, कोही सीमा स्तम्भको अवस्थामाथि निगरानी गरिरहेको हुन्छ, कोही सीमावर्ती क्षेत्रमा गस्ती गरिरहेको हुन्छ। उनीहरूका लागि रात र दिनको खासै अर्थ हुँदैन। उनीहरूको एउटै उद्देश्य हुन्छ—सीमा सुरक्षित राख्ने, ताकि राष्ट्र निश्चिन्त भएर निदाउन सकोस्।
बाँकेको नरैनापुर नेपाल–भारत खुला सीमासँग जोडिएको संवेदनशील क्षेत्र हो। खुला सीमाले दुई देशका नागरिकबीचको पारिवारिक, सामाजिक र आर्थिक सम्बन्धलाई सहज बनाएको छ। सीमापार किनमेल, खेतीपाती, नातागोता र सांस्कृतिक सम्बन्ध यहाँको जीवनशैलीको हिस्सा हुन्। तर यही खुला सीमाको सहजताले लागूऔषध ओसारपसार, मानव बेचबिखन, अवैध तस्करी, फरार अभियुक्तको आवतजावत तथा अन्य संगठित अपराधका जोखिम पनि बढाउने गरेको छ। यही कारण नरैनापुरको सीमा स्थानीय मात्र होइन, राष्ट्रिय सुरक्षाको दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ।
यही चुनौतीका बीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दिनरात सीमामा खटिएका छन्। सशस्त्र प्रहरीले सीमा नाका, सीमा स्तम्भको संरक्षण, नियमित गस्ती, चेकजाँच तथा सीमावर्ती क्षेत्रमा निगरानीलाई निरन्तरता दिइरहेको छ। नेपाल प्रहरीले सीमा क्षेत्रसँग सम्बन्धित अपराधको अनुसन्धान, लागूऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ, सूचना सङ्कलन तथा स्थानीय शान्ति–सुरक्षा कायम राख्ने जिम्मेवारी निर्वाह गरिरहेको छ। यी दुई सुरक्षा निकायबीचको समन्वयले सीमामा हुने अवैध गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको देखिन्छ।
नेपालका सुरक्षा निकाय र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच हुने नियमित समन्वय पनि सीमा सुरक्षाको महत्वपूर्ण पक्ष हो। आवश्यकताअनुसार सञ्चालन हुने संयुक्त गस्ती, सीमा बैठक तथा सूचना आदानप्रदानले सीमापार हुने लागूऔषध ओसारपसार, मानव बेचबिखन, अवैध तस्करी तथा फरार अपराधीको आवतजावत नियन्त्रणमा सकारात्मक भूमिका खेल्ने विश्वास लिइन्छ। खुला सीमाका चुनौतीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न दुवै देशका सुरक्षा निकायबीचको सहकार्यलाई अझ बलियो बनाउनु समयको आवश्यकता पनि हो।
स्थानीय बासिन्दाहरू पनि पछिल्ला वर्षहरूमा सीमा क्षेत्रमा सुरक्षा निकायको उपस्थिति र सक्रियता बढेको अनुभव सुनाउँछन्। उनीहरूका अनुसार नियमित गस्ती र निगरानीका कारण सीमामा हुने धेरै अवैध गतिविधिमा कमी आएको महसुस भएको छ। राति सुरक्षाकर्मीको उपस्थितिले आफूहरूलाई ढुक्क भएको अनुभूति हुने उनीहरूको भनाइ छ।
तर सीमाको अर्को यथार्थ पनि छ।
नरैनापुरका धेरै परिवारको दैनिकी सीमापारको सामान्य किनमेलसँग जोडिएको छ। औषधि, खाद्यान्न वा अन्य घरायसी प्रयोजनका केही सामान ल्याउने चलन यहाँ पुरानै हो। यही क्रममा केही स्थानीयले सुरक्षा जाँचका बेला घरायसी प्रयोजनका लागि ल्याइने न्यून मूल्यका सामानसमेत जफत हुने गरेको गुनासो गर्छन्। उनीहरूको भनाइमा संगठित रूपमा हुने अवैध तस्करी र घरका लागि ल्याइने सामान्य सामानबीच व्यवहारिक भिन्नता गरिनु आवश्यक छ।
स्थानीयहरू भन्छन्, 'हामी अवैध तस्करीको पक्षमा छैनौं। सीमा सुरक्षित हुनुपर्छ, अपराधीमाथि कडा कारबाही हुनुपर्छ। तर कानुन कार्यान्वयन गर्दा सीमावर्ती गरिब नागरिकको दैनिकी र वास्तविकतालाई पनि बुझिनुपर्छ।' उनीहरूका अनुसार कानुन कार्यान्वयनका क्रममा सम्मानजनक व्यवहार, स्पष्ट मापदण्ड र मानवीय संवेदनशीलता अपनाउन सकिए सुरक्षा निकायप्रतिको जनविश्वास अझ मजबुत बन्न सक्छ।
सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन प्रविधिको प्रयोग पनि उत्तिकै आवश्यक देखिन्छ। नरैनापुरका सीमावर्ती केही क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेराले सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याइरहेका छन्। स्थानीयका अनुसार अझ संवेदनशील नाका तथा बढी आवतजावत हुने स्थानमा थप सीसीटीभी, आधुनिक निगरानी प्रणाली, पर्याप्त जनशक्ति र आवश्यक उपकरण विस्तार गर्न सके सीमा सुरक्षा अझ प्रभावकारी बन्न सक्छ। प्रविधिसँगै सीमामा खटिने सुरक्षाकर्मीको तालिम, मनोबल र स्रोत–साधनमा निरन्तर लगानी गर्नु पनि उत्तिकै आवश्यक छ।
सीमा सुरक्षा केवल सुरक्षा निकायको जिम्मेवारी मात्र होइन। स्थानीय समुदाय, जनप्रतिनिधि, प्रशासन, व्यापारी, शिक्षक, युवा र नागरिक समाज सबै यसको साझेदार हुन्। शंकास्पद गतिविधिबारे समयमै सूचना दिने, कानुनको सम्मान गर्ने र सुरक्षा निकायसँग सहकार्य गर्ने संस्कृतिले मात्र सीमालाई अझ सुरक्षित बनाउन सक्छ।
नरैनापुरको सीमा केवल एउटा भौगोलिक रेखा होइन। यो नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र नागरिक सुरक्षाको पहिलो पर्खाल हो। यही पर्खालमा उभिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले मौसम, समय र परिस्थितिको पर्वाह नगरी आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्। उनीहरूको सतर्कताले रोकिएका धेरै सम्भावित अपराध कहिल्यै समाचारको शीर्षक बन्दैनन्, तर त्यही अदृश्य योगदानले सीमावर्ती क्षेत्र र समग्र राष्ट्रको सुरक्षा मजबुत बनाइरहेको हुन्छ।
सीमा सुरक्षित हुनु भनेको अपराध नियन्त्रण मात्र होइन, सीमामा बस्ने नागरिकको सम्मान, विश्वास र दैनिकीको पनि सुरक्षा गर्नु हो। सुरक्षा, संवेदनशीलता, प्रविधि र समुदायसँगको सहकार्य सँगसँगै अघि बढ्न सके मात्र नरैनापुर सुरक्षित र उदाहरणीय सीमावर्ती क्षेत्रका रूपमा स्थापित हुन सक्छ। सीमाको रातमा जाग्राम बस्ने सुरक्षाकर्मीको समर्पणले नै राष्ट्र शान्तिपूर्वक निदाउन पाएको यथार्थलाई कहिल्यै बिर्सनु हुँदैन। र अर्को अर्थमा सीमामा जाग्ने उनीहरु बास्तबमा राष्ट्रको सुरक्षाका नि:शब्द योद्धा हुन भन्नेमा कुनै दुईमत छैन ।