नेपालगन्ज अख्तियारमा बढैयाताल गाउँपालिकाका उजुरी सबैभन्दा धेरै

बुधबार, माघ २८, २०८२

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले ९७३ वटा उजुरी फर्छ्यौट गरेको छ। आर्थिक बर्ष २०८१-०८२ मा ७८८ र चालू आर्थिक बर्षको हालसम्म १८५ वटा उजुरी फर्छ्यौट गरिएको छ । गत आर्थिक बर्षमा ९०२ र चालू आर्थिक बर्षमा ४७१ उजुरी दर्ता भएको कार्यालय प्रमुख झरेन्द्र प्रसाद चापागाईंले बताए।

आयोगको ३५औं स्थापना दिवसको अवसरमा आज सम्पर्क कार्यालय नेपालगन्जमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख चापागाईंले दाङ, बाँके, बर्दिया र रोल्पा कार्य क्षेत्र रहेको नेपालगन्ज कार्यालयमा सबैभन्दा बढी स्थानीय तहका उजुरी परेको जानकारी दिए । उनका अनुसार चालू आर्थिक बर्षमा सबैभन्दा बढी २५ उजुरी बर्दियाको बढैयाताल गाउँपालिकाको परेको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले भ्रष्टाचार नियन्त्रण गर्न सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै शुभकामना मन्तव्य व्यक्त गरे । २०४७ माघ २८ गते भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्वतन्त्र संवैधानिक निकायका रुपमा नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना गरिएको थियो ।

स्थापना दिवसको अवसरमा २० हजार रुपैयाँ राशीको अख्तियार अनुसन्धान सेवा पुरस्कर इन्जिनियर हेम बहादुर सिंजाली र १० हजार रुपैयाँ राशीको अख्तियार सेवा पुरस्कार रन्जित अधिकारीलाई प्रदान गरिएको छ । यसैगरी स्थापना दिवसको अवसरमा आयोजित क्रिकेट, टेबलटेनिस र ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कर्मचारीलाई पुरस्कृत समेत गरिएको थियो । 

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्