बाँके प्रशासनले भन्यो- १५ दिनभित्र हातहतियार नबुझाए कारबाही

मंगलबार, माघ ६, २०८२

बाँके। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजाना १५ दिनभित्र बुझाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सूचना प्रकाशन भएको मितिदेखि १५ दिनभित्र नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा हातहतियार तथा खरखजाना बुझाउन भनिएको हो।दिइएको समयमा हातहतियार नबुझाए र कसैले राखेको भेटिए कडा कारबाही हुने बाँके प्रशासनले चेतावनी दिएको छ।

प्रशासनले निर्वाचन अवधिमा सुरक्षा चुनौती बढ्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको जनाएको छ। साथै जिल्लामा कसैले अवैध रूपमा हातहतियार तथा खरखजाना राखेको जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा तुरुन्त सूचना दिनसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ।

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सबै नागरिकको सहयोग आवश्यक रहेको भन्दै प्रशासनले कानुन विपरीत गतिविधिमा संलग्न नहुन र सुरक्षा निकायलाई सहयोग गर्न अनुरोध गरेको छ।

 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्