सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले १३६औँ वार्षिकोत्सव मनाएको छ । अस्पतालकै सभाहलमा मंगलबार आयोजित समारोह अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षता तथा पूर्व मन्त्री एवं बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इश्तियाक राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले भेरी अस्पताल पश्चिम नेपालको सबैभन्दा महत्वपूर्ण स्वास्थ्य संस्था भएको उल्लेख गर्दै यसको सेवा अझ प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउन सबै तहको सहयोग आवश्यक रहेको बताए । उनले अस्पतालले सीमित स्रोतसाधनका बीच पनि ठूलो जनसंख्यालाई सेवा दिँदै आएको भन्दै स्वास्थ्य पूर्वाधार, जनशक्ति र अत्याधुनिक उपकरणको व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे । उनले अस्पताललाई प्रदेश र संघीय सरकारको प्राथमिकतामा राखेर थप सुदृढ बनाउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकको उपचारको प्रमुख केन्द्र भएकाले यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूको संयुक्त पहल आवश्यक रहेको उनको भनाइ थियो ।
कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य केपी खनालले भेरी अस्पतालको सेवा सुविधा विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जनाए । शुभकामना मन्तव्यका क्रममा बाँके क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य सुरेश कुमार थारुले भेरी अस्पतालले बाँकेसहित कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका बिरामीलाई सेवा दिँदै आएको उल्लेख गर्दै अस्पतालको क्षमता विस्तार अपरिहार्य भएको बताए । लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले सरकारी अस्पतालको सेवा गुणस्तर सुधार गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताइन् ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले स्वागत मन्तव्यसहित अस्पतालको वर्तमान अवस्था, उपलब्धि र भावी योजनाबारे प्रस्तुतीकरण गरेका थिए । उनले सुशासन, गुणस्तरीय सेवा, आधुनिक प्रविधिको प्रयोग तथा बिरामीमैत्री स्वास्थ्य सेवा विस्तारलाई अस्पतालको प्रमुख प्राथमिकता बनाइएको बताए । 'सुशासन, गुणस्तरीय सेवा र प्रविधिमैत्री स्वास्थ्य सेवामार्फत भेरी अस्पताललाई उत्कृष्ट सरकारी अस्पतालका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो,' उनले भने । दर्नालले सेवा प्रवाहमा डिजिटल प्रणालीको विस्तार, विशेषज्ञ सेवा वृद्धि, अनुसन्धान तथा स्वास्थ्य शिक्षामा समेत अस्पतालले जोड दिइरहेको जानकारी दिए ।
कार्यक्रममा अस्पतालले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको वार्षिक स्मारिका ‘अक्सिजन’ को विमोचन पनि गरिएको थियो । साथै वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा २५ बर्ष सेवा गरेका कर्मचारी र कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिनुका साथै सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न नृत्य प्रस्तुति र नाटकले समारोहलाई थप आकर्षक बनाएको थियो ।
प्रतिनिधिसभा सदस्य शुष्मा स्वर्णकार, लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री एवम् लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, विभिन्न सरकारी कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
१३६ वर्षको इतिहास बोकेको भेरी अस्पतालले पश्चिम नेपालको प्रमुख रेफरल अस्पतालका रूपमा लाखौं नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । वि.सं. १९४७ सालमा भेरी अस्पतालको स्थापना भएको हो। वार्षिकोत्सवका अवसरमा वक्ताहरूले अस्पतालको सेवा विस्तार, पूर्वाधार विकास र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबै पक्षबीच सहकार्य अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।