सरकारले सबै प्रकारका छानबिनलाई निष्कर्षमा पुर्‍याउँछ: सञ्चारमन्त्री

बुधबार, साउन ३१, २०८०
honor mob  winter sales

दाङ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रित रहेको बताएकी छिन् ।

Honor x7 pad

प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताइन्। 

भ्रष्टाचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा मन्त्री शर्माले जोड दिइन् । 'सरकारले सुन तस्करी, भुटानी शरणार्थी लगायत अन्य भ्रष्टाचारका घटनामा अनुसन्धानलाई जसरी अगाडि बढाएको छ, यसमा सबैको साथ र सहयोग आवश्यक छ,' उनले भनिन् । 

सरकारका प्रवक्ता मन्त्री शर्माले यस्ता गम्भीर विषय सञ्चार माध्यमले उजागर गरेकाले सरकारलाई थप अनुसन्धान गर्न सहयोग पुगेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमको प्रशंसा गरिन् । 'भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छु, उनले भनिन्, 'प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ। सबै प्रकारका अनुसन्धान निष्कर्षमा पुर्‍याउनेछौँ ।'

मन्त्री शर्माले अर्थतन्त्रमा आएको गिरावटका कारण दाङमा पूर्वाधार विकासका क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न नसिकएको बताइन् । सामाजिक सञ्जाल नियमनका लागि कानुन बमोजिम निर्देशिका तयार गरिरहेको जनाउँदै उनले जिल्लाका पत्रकार तथा सरोकारवाला निकायलाई आवश्यक सल्लाह दिन आग्रह गरिन्। 

जिल्लाको विकट क्षेत्रका रूपमा रहेको राजपुरको मुसिनाकामा टेलिकम सेवा विस्तारको तयारी भइरहेको उनले जानकारी दिइन् । घोराही–तुलसीपुर चार लेनको सडकको ठेक्का सहमतिमा रद्द गरिएको जनाउँदै उनले काम नगर्ने ठेकेदारसँग सहमति गरी उक्त ठेक्का रद्द गरिएको बताइन् । 

 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्