लुम्बिनी प्रदेशको विकास र समृद्धिका स्वार्थ नराखी काम गर्छौं: मुख्यमन्त्री चौधरी

मंगलबार, साउन ३०, २०८०
honor mob  winter sales

नेपालगन्ज ।  प्रदेशको विकास र समृद्धिका लागि कुनै स्वार्थ नराखी काम गरिरहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन् । 

Honor x7 pad

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले कुनै दल, समूह वा गुटलाई प्रश्रय गर्ने गरी नभई जनआकांक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गरे । उनले बाँकेमा राप्ती नदीको कटान रोक्न तटबन्ध गर्ने विषयलाई प्राथमिकतामा राखेको बताए ।

मुख्यमन्त्री चौधरीले नेपालगन्ज प्राचीन सहर भएकाले यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । चौधरीले बागेश्वरी मन्दिरको विकासका लागि बजेट छुट्याएको जानकारी दिँदै गुरुयोजना बनाएर अघि बढ्ने बताए ।

उनले अल्पसंख्यक/ पिछडिएका जातजाति, परम्परागत सीप, कला, संस्कृतिको संरक्षण र संबर्द्धनका लागि लुम्बिनी प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको जानकारी दिए । 

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले जिल्लामा तटबन्ध, यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुरमा स्थापना, पार्टीको निर्माणाधीन सुशिल कोइराला स्मृति भवनका लागि सहयोग लगायतका विषयमा मुख्यमन्त्री चौधरीको ध्यानाकर्षण गराएका थिए ।

सचिव सुधांशु कोइरालाले संचालन गरेको कार्यक्रममा पूर्व मन्त्री गजेन्द्र हमाल,  क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, लुम्बिनी प्रदेशका सांसद माया पुन, संजुकुमारी चौधरी लगायत नेता कार्यकर्ता उपस्थित थिए ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्