रुस-युक्रेन युद्धको ५ सयौं दिन

शनिबार, असार २३, २०८०
Honor 600 pro

एजेन्सी / काठमाडौं । युक्रेनमा रूसी आक्रमणको ५०० औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभास महसुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन्। 

युद्ध सुस्ताउनुको सट्टा चर्किंदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार र गोलाबारुदको अभावबीच यसका मुख्य शहरहरू निरन्तर खतरामा परेपनि आफ्नो पदीय दायित्व पूरा गर्न रूसी आक्रमणको प्रतिरोध गर्दै बिस्तारै अघि बढिरहेका छन् ।

जुन महिनाको सुरुदेखि नै युक्रेनको सेनाले पूर्व र दक्षिणमा रूसी सेनाले कब्जा गरेको क्षेत्र पुनः कब्जा गर्न आक्रमण गरिरहेको छ । आक्रमणबाट क्षति बेहारेको रूसी सेनाले क्रूर प्रतिरोध गरिरहेको छ ।

दक्षिणी युक्रेनको निकोपोल शहरकी ७३ वर्षीया अवकाशप्राप्त शिक्षिका एन्टोनिना मोराखोवस्काले भनिन्, “रूसी सेनाले बलियो किल्ला निर्माण गरेका छन्, उनीहरूसँग धेरै उपकरणहरू छन् ।”

मोराखोवस्काले भनिन्, “म देख्छु हाम्रो सेना कसरी अगाडि बढ्छ । यो बर्षामा उनीहरूका लागि सजिलो छैन । हाम्रा लागि लडिरहेका तिनीहरूको भविष्यबारेमा म सधैं सोच्छु । तर के गर्ने कमजोर परिस्थितिले युक्रेनलाई घाटामाथि घाटा भइरहेको देखाउँछ ।”

उनले एएफपीसँग भनिन्, “यो सत्यको लागि लडाईं हो। जीत कठिन छ तर हामी कुनै दिन अवश्य जित्नेछौँ।” 

पश्चिमी सैन्य सहायताको रूपमा अरबौं युरो प्राप्त गरे तापनि युक्रेनी सेनाले आक्रमण सुरु भएदेखि लगभग एक दर्जन गाउँहरू र केही सय वर्ग किलोमिटर क्षेत्र मात्र फिर्ता लिन सफल भएको छ ।

गत वर्ष युक्रेनको सेनाले गत सेप्टेम्बरमा खार्किभ क्षेत्रको नौ हजार वर्ग किलोमिटर र नोभेम्बरमा खेरसन क्षेत्रको पाँच हजार वर्गकिलोमिटर क्षेत्र पुनः कब्जा गरेको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी हप्ता हुने नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा पश्चिमा शक्तिलाई लामो दूरीका हतियार र एफ–१६ लडाकू विमानका लागि दबाब दिएका छन् । 

“आक्रमण तीव्र गतिमा हुँदैन, यो सत्य हो । तर पनि हामी अगाडि बढिरहेका छौं,” यसै साता प्रागको भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले भनेका थिए । 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २१:१८
प्रतिक्रिया दिनुहोस्