बाँकेमा कांग्रेसको 'सांगठनिक सुदृढीकरणका लागि विशेष अभियान' सुरु

शनिबार, साउन २०, २०८०
honor mob  winter sales

नेपालगन्ज। नेपाली कांग्रेस बाँकेले 'सांगठनिक सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान' सुरुवात गरेको छ । साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन हुने अभियानको आज सुभारम्भ गरिएको हो । 

Honor x7 pad

पार्टी कार्यालय नेपालगञ्जमा आज जिल्ला कार्यसमिति बाँकेका पदाधिकारी,  महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, प्रदेश सभापति, पलिका सभापति लगायतको उपस्थितिमा अभियानको सुभारम्भ गरिएको प्रबक्ता डिल्ली गिरीले बताए ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको अध्यक्षता एवम् केन्द्रिय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले अभियानलाई सार्थक र परिणाममुखी बनाउन सबै तह र तप्का सक्रियतापूर्वक लाग्ने निर्णय गरेको छ । 

बाँकेका लागि केन्द्रिय प्रतिनिधि खटिएका केन्द्रिय सदस्य गिरीले पार्टीको संगठनलाई अझ सुदृढ र गतिशील बनाउन सबैलाई क्रियाशील भएर लाग्न आह्वान गरे । "कांग्रेसको संगठनलाई मजबुत बनाउन हामीले केन्द्रीय कार्यसमितिबाट एक वर्षे कार्ययोजना नै पारित गरेका छौं, त्यही अनुसार यो दश दिने संगठन सुदृढीकरण अभियान सुरु भएको छ," गिरीले भने, "यो अभियानमा कांग्रेसको सांगठनिक जीवन कसरी चलिरहेको छ भनेर जानकारी लिने र कमजोरीहरु औंल्याउने काम हुन्छ ।" पार्टी सभापति गौडेलले ८१ वटै वडामा अभियान पुग्ने गरी सशक्त ढंगले लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । यो १० दिने अभियानपछि कांग्रेसको सांगठनिक जीवनमा परिवर्तन महसूस हुनुपर्नेमा गौडेलको जोड छ । सचिव सुधांशु कोइरालाले बैठकको सहजीकरण गरेका थिए।

साउन २ गतेदेखि १० गतेसम्म बसेको केन्द्रिय कार्यसमितिको निर्णय अनुसार आजदेखि ७७ वटै जिल्लामा अभियान सुरु भएको हो । जिल्लामा खटिएका नेताहरुले जिल्लाको अवस्था के छ ? पार्टी संगठन कसरी चलेको छ ? स्थानीय सरकारहरु कसरी चलेका छन् ? विधान बमोजिम गर्नुपर्ने कामहरु भए नभएको के कस्तो अवस्था छ ?, यी विषयमा प्रतिवेदन तयार गरेर केन्द्रमा बुझाउनेछन् ।

अभियानका क्रममा नेताहरुले पार्टीको क्षेत्रीय कार्यसमितिको बैठक राख्ने, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरुको अवस्थाबारे जानकारी लिने र छलफल समेत गर्नेछन् ।

 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्