कोहलपुर नगरपालिकाले बेरुजु फर्छ्यौट गर्न ३ सय १४ जनालाई काट्यो पत्र

शनिबार, साउन २०, २०८०
honor २२ sept

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाले बेरुजु फर्छ्यौट गर्न ३ सय १४ जनालाई पत्र काटेको छ ।

X7D

नगरपालिका स्थापना भएदेखि गत आर्थिक वर्ष २०७९-८० सम्म असुलउपर गर्नुपर्ने बेरुजु फर्छ्यौटको लागि पदाधिकारी, निर्माण व्यवसायी, व्यापारी, विद्यालय, गैरसरकारी संस्थाहरु र शाखा-उपशाखा तथा कर्मचारीहरुको नाममा रहेको १ करोड ४३ लाख ७८ हजार ७ सय ४४ रुपैयाँ असुल उपरका लागि ३ सय १४ जना व्यक्ति तथा संस्थाहरुलाई तत्काल बेरुजु फर्छ्यौट गर्न पत्र काटिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए । 

नगर प्रमुख आचार्यले एक सार्वजनिक सूचना प्रकाशित गरी महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा शंकास्पद बेरुजु छानबिन गर्न दिइएको निर्देशन बमोजिम महालेखा परीक्षकको कार्यालयले औंल्याएका बेरुजुको अध्ययन गर्दै आन्तरिक छानबिन समिति गठन गरी तोकिएको समयभित्र निष्पक्ष छानबिन पश्चात प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको उल्लेख गरेका छन् ।

साथै उक्त प्रतिवेदनको आधारमा नगदी-जिन्सी सामान हिनामिना तथा सरकारी हानी-नोक्सानी भएको ठहरेमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ। 

कोहलपुर नगरपालिकाले नगरपालिका स्थापना भएको २०७३ सालदेखि गत आर्थिक वर्ष २०७९-८० सम्मको महालेखा परीक्षकको कार्यालयले ४३ करोड ६६ लाख बेरुजु औंल्याएको र बेरुजु कम गरी सुशासनको प्रत्याभूति नगरवासीलाई गराउने उद्देश्यले गत आर्थिक वर्षको अन्त्यदेखि बेरुजु फर्छ्यौट गर्ने कार्यमा लागिपरेको जनाएको छ । 

कोहलपुर नगरपालिकाको नियमित गर्नुपर्ने बेरुजु ३६ करोड ४२ लाख १० हजार ७ सय ३७ रुपैयाँ, असुल उपर गर्नुपर्ने बेरुजु १ करोड ४३ लाख ७८ हजार ७ सय ४४ रुपैयाँ र  म्याद नाघेको पेश्की बेरुजु ५ करोड ८० लाख ४३ हजार ३ सय ५ रुपैयाँ रहेको जनाइएको छ ।  

नगरपालिकाले हालसम्म ५५ प्रतिशत बेरुजु नियमित गरिएको र यस आर्थिक वर्षको अन्त्यसम्म ७५ प्रतिशत बेरुजु फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेको नगर प्रमुख आचार्यले बताए । बेरुजु फर्छ्यौटको लागि कर्मचारीहरुलाई सक्रियतापूर्वक लाग्न कडा निर्देशन दिइएको छ ।

“यस आर्थिक वर्षको अन्त्यसम्म गत आर्थिक वर्षसम्मको ७५ प्रतिशत बेरुजु फर्छ्यौट हुने कुरामा हामी विश्वस्त छौं । सुशासन र जवाफदेहिता हाम्रो प्रमुख संकल्प हो ।

हाम्रो यस संकल्पमा आ–आफ्नो ठाउँबाट सहयोग गरिदिनुहुन  सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु,” आचार्यले भने । पश्चिम नेपालको उदयमान सहर कोहलपुरमा आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको नगरप्रमुख आचार्यले बताए ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्