बाँके जिल्लाभर ३७ हजार किशोरीलाई 'एचपिभी' खोप लगाइँदै

सोमबार, माघ २१, २०८१

नेपालगन्ज । बाँकेमा करीब ३७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।

Honor x5c

स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका आठ स्थानीय तहमा रहेका ३६ हजार ९ सय ५० जना किशोरीलाई खोप लगाइने भएको हो ।

नेपालगन्जमा आज आयोजित एचपीभी खोप अभियान २०८१ सम्बन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले बाँकेमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका र  विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको जानकारी दिए ।

फोकल पर्सन श्रेष्ठका अनुसार तीन सय ७८ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि जिल्लामा चार सय ५९ वटा खोप केन्द्र तोकिएको छ । जसमा तीन सय ७८ वटा विद्यालयमा र ८१ वटा विद्यालय बाहिर खोप केन्द्र छन् । फोकल पर्सन श्रेष्ठका अनुसार पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र  जानकी गाउँपालिकाका २२ हजार ५ सय ८९ जना किशोरीलाई भोलि २२ गतेबाट फागुन १ गतेसम्म खोप लगाइनेछ । 

दोस्रो चरणमा माघ ३० गतेबाट राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका गरी ४ वटा पालिकाका १२ हजार ३ सय ६१ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको पनि श्रेष्ठले बताए । 

कार्यक्रममा जिल्ला खोप समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, भेरी अस्पताल नेपालगन्जका कन्सन्टेन्ट फिजिसियन डा.राजन पाण्डे लगायतले खोप अभियान र एचपीभी खोपको प्रभावकारिताका बारेमा बोलेका थिए । 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्