करिब डेढ महिनादेखि कोहलपुरमा चल्दै थियो अनलाइन सट्टेबाजीको धन्दा, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य

बुधबार, असोज ७, २०८३

नेपालगन्ज। बाँकेको कोहलपुरस्थित होटल म्याक्समा करिब डेढ महिनादेखि सञ्चालन हुँदै आएको अनलाइन सट्टेबाजीको धन्दा प्रहरीको छापापछि खुलेको छ ।

काठमाडौंमा प्रहरीले अनलाइन सट्टेबाजीको कारोबार हुने स्थानमा छापा हानेर गिरोहका सदस्यलाई पक्राउ गरेपछि त्यससँग जोडिएका अन्य सदस्यहरू कोहलपुर आएर नयाँ ठाउँबाट कारोबार सुरु गरेको हुनसक्ने बाँके प्रहरीले आशंका गरेको छ ।

बाँके प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू करिब डेढ महिनाअघि कोहलपुर आएका थिए । होटल म्याक्सलाई आधार बनाएर उनीहरूले अनलाइनमार्फत सट्टेबाजी खेलाउने तथा कारोबार सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

कोहलपुरमा अनलाइन सट्टेबाजी खेलाउने स्थान सञ्चालन भइरहेको स्पष्ट सूचना बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीसमक्ष पुगेपछि प्रहरीले तत्कालै निगरानी बढाएको थियो । सूचना पाएपछि प्रहरी टोलीले एक–दुई दिनसम्म होटलको गतिविधिमाथि विशेष निगरानी गरेको थियो ।

सूचना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी निरीक्षक रमेश विष्ट र प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बजगाईँसहितको टोली मंगलबार साँझ होटल म्याक्समा पुगेको थियो ।

प्रहरी टोलीले होटलमा छापा मार्दा ठूलो संख्यामा मानिसहरू एउटै स्थानमा बसेर विद्युतीय उपकरणमार्फत अनलाइन गतिविधि गरिरहेको अवस्थामा भेटिएका थिए । सुरुमा प्रहरीको अनुमान १०–१२ जनाको समूह हुनसक्ने थियो । तर, होटलभित्रको वास्तविक संख्या देखेपछि प्रहरीसमेत चकित परेको थियो ।

छापाका क्रममा प्रहरीले २८ थान ल्यापटप र ७८ थान मोबाइल फोनसहित विभिन्न विद्युतीय उपकरण बरामद गरेको छ । बरामद उपकरणमा रहेको डाटा परीक्षणपछि गिरोहले अहिलेसम्म गरेको कारोबार, रकमको विवरण, सम्पर्कमा रहेका व्यक्ति तथा उनीहरूको नेटवर्कबारे थप तथ्य खुल्ने प्रहरीको भनाइ छ ।

बरामद उपकरणको डाटा रिकभर तथा विश्लेषणका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक बजगाईँसहितको आईटी एक्सपर्ट टोलीले काम सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीले गिरोहको कनेक्सन कहाँ–कहाँसम्म रहेको छ भन्ने विषयमा समेत अनुसन्धान अघि बढाएको छ । काठमाडौंमा भएको कारबाहीसँग यसको सम्बन्ध छ कि छैन भन्ने विषयलाई समेत अनुसन्धानको दायरामा राखिएको बाँके प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूविरुद्ध अनलाइन सट्टेबाजीसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बाँके प्रहरीले होटलबाट सुरुमा ४०  जना भारतीय नागरिक र दुई जना नेपाली नागरिक गरी ४२ जना पक्राउ परेका जनाएको छ । प्रहरीले छापा मार्ने क्रममा त्यहाँबाट भागेर कोठामा लुकेका थप ६ जनालाई बाँके प्रहरीको टोलीले नियन्त्रणमा लिन सफल भएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेकाहरू प्रारम्भिक अनुसन्धानमा अनलाइन सट्टेबाजीसँग जोडिएको देखिएका छन् ।

प्रहरीले बरामद गरेको मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय उपकरणको प्राविधिक परीक्षणपछि गिरोहले कति रकमको कारोबार गरेको थियो र यसको नेटवर्क कहाँसम्म फैलिएको थियो भन्ने विषय थप खुल्ने जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  ११:२५
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह