३६ घण्टामै पक्राउ परे कोहलपुरबाट भागेका थुनुवा, असईसहित २ जना निलम्बित, ५ जना पुरस्कृत 

बिहीबार, असोज ८, २०८३

बाँके  । बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट उपचारका क्रममा फरार भएका एक थुनुवा ३६  घण्टाभित्रै पक्राउ परेका छन् ।

चोरी मुद्दामा पक्राउ परेका कोहलपुर नगरपालिका–११ का १९ वर्षीय विशाल घर्तीमगरलाई गत असोज ७ गते राति करिब १ बजे ज्वरो आएपछि कोहलपुर प्रहरीले उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेको थियो।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी सहायक निरीक्षक (असई) खगेश्वर श्रेष्ठको कमाण्डमा खटिएको पाँच जनाको टोलीले उनलाई उपचारका लागि अस्पताल पुर्‍याएको थियो । उपचारका क्रममा राति करिब १ः३६ बजे शौचालय गएका घर्तीमगर झ्यालबाट हाम फालेर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी)अंगुर जिसीको निर्देशनमा फरार थुनुवाको प्रहरीले उनको खोजी तीव्र पारेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले घर्तीमगरलाई लुकिछिपी बसेको अवस्थामा ३६  घण्टाभित्रै बाँकेबाट नियन्त्रणमा  लिन सफल भएको हो ।

थुनुवा फरार भएको घटनामा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक र एक जना प्रहरी जवानलाई लापरबाही गरेको भन्दै एसपी जिसीले निलम्बन गरेका छन्। फरार थुनुवालाई पक्राउ गर्न सफल टोलीका पाँच जना प्रहरीलाई भने पुरस्कृत गर्न सिफारिस गरिएको छ।

घटनाका बेला प्रहरी टोलीको कमाण्ड सम्हालेका प्रहरी सहायक निरीक्षकको गम्भीर लापरबाही देखिएकाले निलम्बन गरिएको एसपी जिसीले बताए। एसपी जिसी भन्छन् - "मैले गलत गर्नेलाई कुनै छुट दिदैन तर राम्रो काम गर्नेलाई म पुरस्कृतको भागिदारी बनाउँछु। आफू पनि गलत ग्गर्दैन र गलत गर्नेलाई म कुनै दयामाया देखाउदैन।"

बाँकेमा थुनुवा फरार हुने घटना बेलाबेला देखिने गरे पनि प्रहरीले खोजी गरी उनीहरूलाई पुनः पक्राउ गर्दै आएको छ । पछिल्लो समय एसपी जिसीको नेतृत्वमा रहेको टोलीले फरार भएर भारत पुगेका थुनुवासमेत ४० देखि ५० घण्टा नबित्दै पक्राउ गरी बाँके ल्याउन सफल भएका उदाहरण छन् ।

फरार थुनुवा पक्राउ गर्न एसपी जिसीको नेतृत्वमा प्रहरी टोली सक्रिय रहँदै आएको छ । फरार भएर भारत पुगे पनि खोजी गरी पक्राउ गर्न प्रहरी सफल हुँदै आएको अवस्थामा थुनुवा भाग्नुको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ ।

‘भागेर कहाँसम्म जाने? अन्ततः पक्राउ पर्ने नै हो’ भन्ने अवस्था हुँदाहुँदै पनि थुनुवा किन फरार हुने प्रयास गर्छन् भन्ने प्रश्न उठेको छ । फरार थुनुवालाई पानीमुनि लुकेको भएपनि खोजेर पक्राउ गर्ने एसपी जिसी दाबी सत्य साबित बन्दै गएको छ।  सरोकारवालाहरु भन्छन् - 'यस्तो अवस्थामा उनीहरूको फरार हुने प्रयासले थप जोखिम निम्त्याउने गरेको देखिन्छ ।'

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १८:३९
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह