राप्ती सोनारी गाउँपालिका कांग्रेस सभापतिमा भिमबहादुर राना क्षेत्री निर्वाचित 

बिहीबार, असोज ८, २०८३
बाँके । नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिकाको सभापतिमा भिमबहादुर राना क्षेत्री निर्वाचित भएका छन् । बुधबार सम्पन्न पालिका अधिवेशनमा राणाले १३७ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् ।
 
क्षेत्रीले निवर्तमान सभापति शेरबहादुर देउवा–शेखर कोइराला समूहको समर्थनमा उम्मेदवारी दिएका थिए । उनका प्रतिस्पर्धी बालकिसन थारुले ९९ मत प्राप्त गरे । पालिका सभापतिका लागि भएको निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा भएको थियो ।
 
क्षेत्रीको नेतृत्वमा रहेको प्यानलले संस्थापन समूहका उम्मेदवारलाई पराजित गर्दै अधिकांश पदमा विजय हासिल गरेको हो ।


पालिका अधिवेशनमा कुल २५३ मत खसेको थियो । खसेका मतमध्ये ६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा निर्वाचित क्षेत्रीले आफ्नो जितलाई व्यक्तिगतभन्दा पनि पार्टीभित्रको एकता, संगठन सुदृढीकरण र कार्यकर्ताको विश्वासको परिणामका रूपमा लिएको बताएका छन् ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै  
क्षेत्रीले आफूलाई मतदान गर्ने तथा नगर्ने सबै कांग्रेस कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले गाउँपालिकाभित्र कांग्रेसको संगठनलाई थप बलियो बनाउँदै आगामी दिनमा पार्टीका नेता तथा कार्यकर्ताबीचको सहकार्यलाई प्राथमिकता दिने बताए।

क्षेत्रीले पार्टीभित्र निर्वाचनका क्रममा देखिएको प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिएर अब सबै पक्षलाई मिलाएर संगठन निर्माणमा केन्द्रित हुने बताएका छन् । ‘निर्वाचनमा प्रतिस्पर्धा भयो, अब त्यो प्रतिस्पर्धा सकिएको छ । सबै साथीहरूलाई साथमा लिएर पार्टी संगठनलाई मजबुत बनाउने मेरो प्राथमिकता हो,’ उनले भने ।

उनले गाउँपालिकाका सबै वडा तहसम्म पार्टीको संगठनलाई सक्रिय बनाउने, कार्यकर्ताका समस्या र गुनासा सुन्ने तथा जनतासँग कांग्रेसको सम्बन्ध अझ बलियो बनाउने आफ्नो मुख्य जिम्मेवारी रहेको बताए । पार्टीलाई आगामी दिनमा थप प्रभावकारी बनाउन युवादेखि पुराना पुस्तासम्मका नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।

अधिवेशनबाट उपसभापतिमा कान्छा थारु निर्वाचित भएका छन्। उनले १६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जयबहादुर डाँगीले ६६ मत प्राप्त गरे । महिला उपसभापतिमा शुलिला थारु निर्विरोध निर्वाचित भएकी छन् ।

त्यस्तै, सचिवमा चिरिञ्जीवी केसी निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा होमबहादुर रावत १५८ मत प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रेमबहादुर खत्रीले ५१ मत प्राप्त गरे ।

महिला सदस्यतर्फ निरा थारु १४९ मतसहित निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी जीवनकला खनालले ५४ मत प्राप्त गरिन् ।

पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै राप्ती सोनारीमा नेपाली कांग्रेसको आगामी संगठनात्मक गतिविधिले नयाँ गति लिने अपेक्षा गरिएको छ । निर्वाचित पदाधिकारीहरूले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई अन्त्य गर्दै संगठन विस्तार, कार्यकर्ता परिचालन र जनतासँगको सम्बन्ध सुदृढीकरणमा ध्यान दिने बताएका छन् ।

क्षेत्रीको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिले स्थानीय तहमा कांग्रेसको संगठनलाई थप व्यवस्थित बनाउने चुनौती पाएको छ । अधिवेशनमा भएको प्रतिस्पर्धापछि अब सबै पक्षलाई समेटेर अघि बढ्नु नयाँ नेतृत्वको मुख्य जिम्मेवारी हुनेछ ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ०७:५०
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह