अवधि संविधान कानुन मन्त्रालयलाई हस्तान्तरण

शनिबार, पुस १३, २०८१

नेपालगञ्ज । अवधि भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

डुडुवा गाउँपालिका बाँकेको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले संविधानलाई स्थानीय अवधि भाषामा अनुवाद गरी प्रकाशनमा ल्याएको छ । प्रकाशित प्रति  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई संस्थाका सल्लाहकार एवम् कानुनकर्मी सन्तोष रेग्मीले प्रदान गरेका छन् ।

मन्त्रालयमा एक समारोहका बीच आइएचआरसीका सल्लाहकार रेग्मीले संविधान प्रकाशनबारे जानकारी गराउँदै मन्त्रालयका सचिव सापकोटालाई अवधि संविधान हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्रालयका सचिव सापकोटाले नेपालमा बसोबास गर्ने अवधि भाषी समुदायका लागि स्थानीय भाषामा संविधान पढ्न र बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबै अवधि भाषीलाई संविधान पढ्न आग्रह गरे । उनले सरकारले गर्ने कामलाई सहयोग गरेको भन्दै कानुनलाई स्थानीयकरण गरेकोमा खुशी व्यक्त गरे ।

यसैबीच प्रकाशित अवधि संविधानलाई भाषा आयोगमा पनि पठाइएको छ । भाषा आयोगले बहुप्रचलनमा रहेका १२ वटा स्थानीय भाषामा संविधान अनुवाद गरेर जनतालाई वितरण गर्न सरकारलाई निर्देशन समेत दिएको छ । आइएचआरसी संस्थाले अवधि संविधानलाई समुदायमा निःशुल्क रुपमा वितरण गरिरहेको छ।

आगामी दिनमा अन्य कानुनलाई अनुवाद गरी प्रकाशनको तयारी गरेको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताए ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  २३:२४
प्रतिक्रिया दिनुहोस्