Dashain Banner
Dashain Banner

'सीमावासीसँग सशस्त्र प्रहरी' होलियाको स्वास्थ्य शिविर,२८८ जनाको परिक्षण

आइतबार, पुस ७, २०८१

डुडुवा (बाँके) । बाँके डुडुवा गाउँपालिका-१ होलिया गाउँमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २ सय ८८ जनाले सेवा लिएका छन ।

डुडुवा गाउँपालिकाको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १ सय ५२ महिला र  १ सय ३६ जना पुरुष गरि २ सय ८८ जनाको स्वास्थ्य परीक्षण गरि औषधी वितरण गरिएको थियो । 

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्र्तगत आयोजित शिविरमा निःशुल्क उपचार गर्नुका साथै उनीहरुलाई विभिन्न प्रकारका औषधी निःशुल्क वितरण गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुरदराजका स्थानीयमा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याको पहिचान तथा रोगका बारेमा जानकारीका लागि स्वास्थ्य शिविरले ठुलो मद्दत पुरयाएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । पालिकाले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेकाले स्वास्थ्यको समस्याबाट कुनै पनि नागरिक बञ्चित नहुन भनेर घर घरमा स्वास्थ्य सेवा लागु गरेको भन्दै चौधरीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी आफ्नो स्वास्थ्य चेकजाँच गराउन स्थानीयलाई आग्रह गरे । 

शिविरमा मध्यपश्चिम क्षेत्रीय शसस्त्र प्रहरी बल अस्पताल बाँकेका चिकित्सक सशस्त्र प्रहरी निरीक्षक डा. विवेक पुन, हेल्थ असिस्टेन्ट सशस्त्र प्रहरी नायब निरीक्षक भरत थापा र डिल्लीबहादुर गिरी तथा डुडुवा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रिजवान खान, हेल्थ असिस्टेन्ट पवन कैराती, शैलेन्द्र शर्मा, सिनियर अहेब प्रदिप शाह, अहेब मनोज कैराती र प्रदीप ओलीले बिरामीको चेकजाँच गरेका थिए ।  

शनिबार आयोजना गरिएको शिविरमा साधारण स्वास्थ्य परीक्षण, नाक कान घाँटी, दाँत, आँखा तथा अन्य रोगहरुको परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका पवन कैरातीले बताए । डुडुवाको सबै भन्दा बिकट क्षेत्र कृषि चौफेरी, पाझा होलिय, खडैचा, पिप्रहवालगायत गाउँका स्थानीयलाई लक्षित गरी शिविर संचालन गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्