Dashain Banner
Dashain Banner

कोहलपुरको समावेशी टोलमा खानेपानीको पाइप विस्तार हुँदै

बिहीबार, मंसिर १३, २०८१

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका–९ समावेशी टोलमा खानेपानीका लागि पाइप विस्तार गरिने भएको छ ।

लुम्विनी प्रदेश सरकारको १२ लाख बजेटबाट एक हजार तीन सय मिटर पाइप लाइन विस्तार गर्न लागिएको भेरी राप्ती खानेपानी तथा उपभोक्ता समूहका अध्यक्ष झुपनाथ योगीले जानकारी दिए । 

पहिलो चरणमा खानेपानी ट्यांकीबाट समावेशी टोल हुँदै पाइप लाइन विस्तार गरिन लागिएको हो। ‘वडाबासीलाई खानेपानीको पहुँचमा ल्याउन प्रदेश सरकारको बजेटबाट पाइप लाइन विस्तारको काम अगाडि बढाइएको छ,'वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले भने–‘चालू आर्थिक वर्षभित्रै निर्माण काम सक्ने गरी एक हजार तीन सय मिटर पाइप लाइन विस्तार हुनेछ ।’ प्रदेश सरकारले खानेपानी भवन र पाइप लाइन विस्तारका लागि ४५ लाख बजेट विनियोजन गरेको थियो । त्यही बजेटमा अहिले भवन निर्माणको काम पनि भइरहेको उनले बताए । 

दुई सय २५ घनमिटर अर्थात दुई लाख २५ हजार लिटर क्षमताको भेरी राप्ती खानेपानी संस्थाले आगामी आर्थिक वर्षबाट उपभोक्ताहरुलाई पानी वितरण गर्ने गरी योजना अगाडि बढाएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्