सरकार आफैंले भ्रष्टाचार लुकाउने कोसिस गरिरहेको केपी ओलीको आरोप

शनिबार, साउन १३, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा नैतिक जवाफदेहिता नरहेको बताएका छन् ।

Honor x7 pad

नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीको आयोजनामा आजदेखि नेपालगन्जमा सुरु भएको लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार आफैंले भ्रष्टाचार लुकाउने कोसिस गरिरहेको आरोप लगाउँदै सरकार केवल स्टन्टबाजीमा मात्र उत्रेको जिकिर गरे ।

एअरपोर्ट बाहिर केही दिन अघि बरामद गरिएको ठूलो परिमाणको सुनप्रति लक्षित उनले सरकारको जानकारी विना उक्त काम हुन नसक्ने दाबी गरे ।

अध्यक्ष ओलीले मिलिजुली खान गठबन्धन सरकार बनेको जिकिर गर्दै गठबन्धन नामको कुनै गन्तव्य नभएको बाँडीचुँडी खाने उद्देश्यले बनेको सरकारले मुलुकलाई केही दिन नसक्ने बताए । नेकपा एमाले मात्र अब देशलाई अगाडि बढाउन सक्ने पार्टी भएको बताउँदै उनले जनताको आशा र भरोसा पनि एमाले भएको दाबी गरे । 

ओलीले भने-"नेकपा एमाले बाहेक अब अर्को कुनै विकल्प छैन ।" नेकपा एमालेलाई कसैले पनि पराजित गर्न नसक्ने बताउँदै उहाँले एमाले अब मिसन २०८४ मा केन्द्रित भएको बताए ।

लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भएको हो । कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव पद्मा अर्याल लगायतले बोलेका थिए । भेला तथा प्रशिक्षण भोलिसम्म चल्नेछ ।

भेलामा लुम्बिनी प्रदेशमा एमालेबाट निर्वाचित राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्