विद्यालयहरुलाई प्रविधिसँग जोड्दै राप्तीसोनारी गाउँपालिका

शुक्रबार, असोज ११, २०८१
honor mob  winter sales

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले शैक्षिक क्षेत्रको स्तर सुधारमा जोड दिएको छ । पालिकाको शैक्षिक क्षेत्रको गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले आर्थिक वर्ष २०८१-०८२ मा आवश्यक कार्यक्रमहरु तयार गरेको छ । 

Honor x7 pad

विद्यालयहरुलाई प्रविधिसँग जोड्नेदेखि बालबालिकाहरुको क्षमता अभिबृद्धि तथा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउने सम्मका कार्यक्रमहरु पालिकाले तयार गरेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । 

पालिकाभरी रहेका विद्यालयहरुको शैक्षिक सुधार गर्न यहाँका शिक्षा क्षेत्रका व्यक्तिहरुको राय सुझावको आधारणमा आवश्यक कार्यक्रमहरु तयार गरिएको र त्यसै अनुसार संचालन गरिने अध्यक्ष पौडेलेले बताए । पालिकाले शैक्षिक सुधारका लागि यस वर्ष ७ करोड ९८ हजार बढीको बजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाका शिक्षा समिति संयोजक एवं प्रवक्ता मिनराज खडकाका अनुसार पालिकाले शैक्षिक क्षेत्रको बृद्धि विकासका लागि यो वर्ष २६ वटा फरक कार्यक्रम तयार गरेको छ । यस वर्ष हामीले पालिकाका विद्यालयहरुमा सुधार गर्नुपर्ने मुख्य मुख्य विषयहरुमा काम गर्ने योजना बनाएको प्रवक्ता खड्काले जानकारी दिए ।  

जसअनुसार दरबन्दी मिलान कार्य टुंग्याउने, शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय छनौट गरेर यो वर्ष ३ वटामा विद्यालय भवन निर्माण गरिने, टिनको छानालाई बिस्थापित गरेर जिप्सन लगाउने, खानेपानी, शौचालयको व्यवस्थापन गरिनेछ । यी कार्यहरु प्रदेश र पालिकाको संयुक्त बजेटबाट गर्ने योजना बनेको प्रवक्ता खड्काले बताए ।  

प्रवक्ता खड्का अनुसार यसका साथै लामो समयदेखि पालिका अनुदानमा रहेका शिक्षकहरुको श्रमलाई ध्यानमा राख्दै केही पारिश्रमिक थपेर दिने, अनुगमनलाई चुस्त दुरुस्त बनाउने, हरेक विद्यालयको व्यवस्थापन कार्य पारदर्शी बनाउने तथा अनुगमन कार्यलाई नियमित र प्रभावकारी ढंगले बढाइने रहेको छ। 

यस्तै राप्ती सोनारीमा विगतमा प्रविधिसँग जोडिन नसकेका विद्यालयहरुलाई प्रविधिसँग जोड्ने, बालबालिकाहरुलाई विद्यालय पुगिसकेपछि नभई नहुने शुद्ध खानेपानी तथा गर्मीमा सहज बनाउने सामानको व्यवस्थापन, दरबन्दी नभएका विद्यालयहरुमा शिक्षक अनुदान सहयोग गरेर शैक्षिक क्रियाकलापलाई दिगो र प्रभावकारी रुपमा जाने यो वर्ष पालिकाको योजना रहेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए । 

‘शैक्षिक सुधारले नै पालिकाको विकासको अवस्थामा परिवर्तन हुन्छ,’ शाखा प्रमुख न्यौपानेले भने, ‘यहाँका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनका लागि हामीले निरन्तर कार्यक्रमहरु संचालन गरिरहेका छौं । त्यसका लागि पालिकाले आवश्यक रणनीति बनाएर अघि बढेको छ ।’ 

यसका साथै यस वर्षको कार्यक्रम अन्तर्गत शैक्षिक गुणस्तरसम्बन्धी शिक्षकहरुका लागि तालिम, अभिभावक शिक्षा, केही विद्यालयहरुमा आवश्यकता अनुसार स्कुल बस संचालनका लागि आवश्यक सहयोग, विद्यालयमा सूचना प्रविधिका कार्यक्रम संचालन गरिने शाखा प्रमुख न्यौपानेले बताए । 

शाखा प्रमुख न्यौपानेका अनुसार बालबालिकाहरुलाई अध्ययनसँगै खेलतर्फ आकर्षित तथा क्षमता विकास प्रोत्साहनका लागि विद्यालयस्तरमा अतिरिक्ति क्रियाकलाप, गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट खेलकुद प्रतियोगिता, गाउँपालिका स्तरीय अध्यक्ष कप जस्ता क्रियाकलाप रहेका छन् । 

यसैगरी युवाहरुलाई सकारात्मक सन्देश प्रवाह गर्नका लागि युवा सिप विकास तथा युवा क्लबको क्षमता विकास कार्यक्रम, खेलकुद विकास समिति संचालन तथा व्यवस्थापन, खेलकुद प्रतियोगिता तथा खेलाडी प्रोत्साहन कार्यक्रम, बाल विकास कक्षा व्यवस्थापन, खेल सामाग्री वितरण, प्राविधिक तथा उच्च शिक्षाका लागि छात्रवृत्ती वितरण कार्यक्रमहरु रहेको शिक्षा शाखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्