Dashain Banner
Dashain Banner

कञ्चनपुरको झलारीका स्थानीयका घरभित्र पस्यो पानी

बिहीबार, भदौ ६, २०८१

कञ्चनपुर।  पूर्वपश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका–१० झलारीको नहर टोलका दुईदर्जन बढी स्थानीय बासिन्दाको घरभित्र वर्षात्को पानी पसेको छ । 

पानीको निकास साँघुरो हुँदा वर्षाको पानी स्थानीय बासिन्दाको घरभित्र पसेको हो । वर्षाको पानी घरभित्र पस्दा स्थानीय बासिन्दाका लत्ताकपडा, खाद्यान्न, भाडाँकुडालगायत अन्य अत्यावश्यक सामग्रीमा क्षति पुगेको छ । 

स्थानीय भिमराज अवस्थीले वर्षात्को पानी घरभित्र पस्दा नवसिर्जना सहकारी संस्थाको भण्डारण गरेर राखिएको डिएपी, युरिया, पोटासलगायत मलमा निकै क्षति पुगेको बताए । उनले भन्ए, “घरमा भाडामा बस्नेको खाद्यान्नदेखि लत्ताकपडालगायत सामग्रीमा क्षति पुगेको छ ।” 

आँगनमा पानी भरिएकाले घरभित्र प्रवेश गर्न निकै समस्या भएको स्थानीय दीपेन्द्र भट्टले बताए । बस्तीको पानी बग्ने पूर्वपश्चिम राजमार्गमा बनाइएको कल्भर्ट साँधुरो र त्यसकै मुखमै सिँचाइ आयोजनाले ढलानको कार्य गरिदिएपछि पानी निकास हुन नपाएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी जवान, डिभिजन सडक कार्यालय, सिँचाइ आयोजनाका कर्मचारी र स्थानीय बासिन्दाले थुनिएको कल्भर्ट सफाइको कार्य गरेका छन् ।

साँधुरो कल्भर्टभित्रै नहरको संरचना निर्माण, टेलिफोनका केबुलका तारहरू र खानेपानीको पाइप छिराउने कार्यले समस्या भएको इप्रका झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाएरले बताए । सडक चौडा गर्ने कार्यसँगै कल्भर्टलाई चौडा बनाइए पानीको सहज निकास हुने उनले बताए । 

डुबानको समस्या समाधानको माग गर्दै स्थानीय बासिन्दा बुधबार सङ्घर्षमा उत्रिएका थिए । पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नका लागि आएका बासिन्दालाई प्रहरीले सम्झाइबुझाइ गर्दा अवरोध हुन पाएन । 

डुबानको समस्या समाधानका लागि स्थानीय नगरपालिका कार्यालय पुगेका थिए । समस्या समाधान गर्ने अश्वासन पाएपछि उनीहरू नगरपालिकाबाट फर्किएका हुन् । वडाध्यक्ष लालबहादुर ऐरले डुबानको समस्या समाधानका लागि भरपर्दो प्रयास गर्ने अश्वासन दिएका थिए । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्