Dashain Banner
Dashain Banner

बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती हुँदै

शुक्रबार, साउन ३२, २०८१

नेपालगञ्ज । धार्मिक पर्यटन प्रवद्र्धनका लागि बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती हुँदैछ । बाँके डुडुवा गाउँपालिका वडा नम्बर–४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती हुन लागेको हो ।

राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्नका लागि महाआरती गर्न लागिएको मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताए । उनका अनुसार यही भदौ ३ गते श्रावण शुक्ल पूर्णिमाका दिन साँझ ६ बजे महाआरती सुरु गर्न लागिएको हो । स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा सोमबारदेखि सुरु हुने महाआरतीलाई प्रत्येक महिनाको पूर्णिमाका दिन नियमितरुपमा गरिनेछ । महाआरतीको तयारी अहिले तीब्ररुपमा भइरहेको छ । राप्ती नदी पर्यटकीय क्षेत्रको रुपमा रहेको छ ।

नदीमा प्रत्येक वर्ष कार्तिक पूर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम कवारिया, दशैंमा दुर्गा मूर्तिको प्रतिमा विसर्जन, शुभदिपावली पर्वको अवसरमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा शिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समयसमयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दह लगायतका कार्यक्रमहरु हुने गरेको छ । राप्ती नदी, पुल, मन्दिर र निर्माण हुन लागेको बैकुण्ठधामले त्यस आसपासको क्षेत्रलाई पर्याप्रर्यटनको रुपमा विकास गर्न थालिएको स्थानीय अगुवा सूर्यलाल यादवले बताए । उनका अनुसार यस क्षेत्रलाई जिल्लामै पहिचान गराई यहाँको सम्भावनालाई दिगो बनाउन पहल गरिएको हो ।

राप्ती नदीमा अहिले डुडुवा गाउँपालिकाको सहयोगका शवदाह केन्द्र निर्माण भइरहेको छ भने बैकुण्ठधाम सिधनियाघाट पनि निर्माण हुन लागेको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्