देशकै सबैभन्दा ठुलो गाउँपालिका राप्तीसोनारीमा झण्डै ८६ करोड बजेट प्रस्तुत

सोमबार, असार १०, २०८१
honor mob  winter sales

नेपालगञ्ज ।देशकै सबैभन्दा ठुलो गाउँपालिका बाँकेको राप्तीसोनारी गाउँपालिकाले गाउँसभाको पन्ध्रौं अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र उपाध्यक्ष मनिषा सिंह थारुले बजेट प्रस्ततु गरिन् । राप्तीसोनारीले आगामी बजेट करीब ८६ करोड विनियोजन गरेको छ । यो चालू आर्थिक वर्षको भन्दा झण्डै तीन करोडले कम हो । 

Honor x7 pad

उपाध्यक्ष थारुले आगामी आर्थिक बर्षका लागि ८५ करोड ८० लाख ८४ हजार रुपैयाँको बजेट विनियोजन गरेको जानकारी दिइन् । चालु खर्चतर्फ ५० करोड ६६ लाख ६५ हजार र पूंजीगत खर्चतर्फ ३५ करोड १४ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ । उनका अनुसार शिक्षातर्फ ३७ करोड ८४ लाख १७ हजार विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ७ करोड ७२ लाख २० हजार, कृषितर्फ १ करोड ६० लाख २० हजार, पशुतर्फ १ करोड २४ लाख २० हजार, महिलातर्फ २ करोड १ लाख, खानेपानीतर्फ ३० लाख, सहकारी तथा संघसंस्थातर्फ १० लाख, वन तथा वातावरणतर्फ ७ लाख, पञ्जीकरण तर्फ ४ लाख ९५ हजार, रोजगार सेवा केन्द्रतर्फ ५८ लाख ६४ हजार विनियोजन गरिएको छ । त्यसैगरी उद्यम विकासतर्फ १७ लाख, आवास कार्यक्रमतर्फ ३ करोड २ लाख, साझेदारी प्रवद्र्धन कोषका लागि २ लाख ५० हजार, स्वास्थ्य उपचार कोषका लागि २० लाख, सामाजिक विकास प्रबद्र्धन कोषका लागि २५ लाख र मर्मत सम्भार कोषका लागि २० लाख बजेट विनियोजन गरिएको छ । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष पौडेलले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम निर्माण गरिएको बताए । उनले जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक नीति निर्माण गरी कार्यान्वयन गरिने बताए । ऐलानी जग्गामा खेती गर्ने किसानहरुलाई कृषि सेवा सहुलियतको लागि उपयुक्त नीति निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि वीमालाई प्रभावकारी बनाउन बीमा कम्पनी र किसानसँग समन्वयात्मक संजाल कार्यक्रम गर्ने, सामूहिक खेती सञ्चालन कार्यक्रमलाई प्रोत्साहन गर्ने, महिला लक्षित कृषि प्रविधिमैत्री कार्यक्रम सञ्चालन गर्ने, वडा नम्बर २, ७, ८ र ९ मा दुग्ध उत्पादन समूह गठन गर्ने र बाख्रा स्रोत केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रमलाई नीति तथा कार्यक्रमले जोड दिएको छ । 

कृषि तथा पशु विकास कार्यक्रममा दिइँदै आएको अनुदान वितरण प्रणालीलाई निरुत्साहित गर्दै गरिब परिवारले उत्पादन गरेका बस्तुहरु विक्री वितरण सहजीकरण गरिने पनि नीति तथा कार्यक्रमले समेटेको अध्यक्ष पौडेलले बताए । यसैगरी रोजगार बैंकको स्थापना गरी कामको खोजीमा रहेका बेरोजगार व्यक्तिहरुलाई सूचीकरणमा समावेश गराई प्राथमिकताको आधारमा रोजगारी सिर्जनाका कार्यक्रमहरु सञ्चालन गरी रोजगारीको न्यूनतम अवसरमा संलग्न गराइने पनि उल्लेख छ । मुक्तकमलहरी, द्वन्दपीडित व्यक्तिहरुको तथ्यांकहरु संकलन गर्ने र आवश्यक पर्ने कानुनी प्रवन्ध गरी उनीहरुलाई कृषि, शिक्षा, स्वास्थ्य एवम् सशक्तिकरण र आयआर्जनको क्षेत्रमा पहुँच अभिवृद्धि गरिने उल्लेख छ। 

पालिकाले आगामी आर्थिक वर्षमा शिक्षक दरवन्दी मिलान तथा पुनःवितरण गर्दै १० वर्षे गाउँ शिक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने भएको छ । त्यसैगरी विद्यालयमा टिनको छानो विस्थापित गरी वातावरण अनुकूल तथा विद्यार्थीमैत्री बनाउने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । यसैगरी राप्तीसोनारी वडा नम्बर ८ मा २४ सै घण्टा वर्थिङ सेवा सञ्चालन गरिने भएको छ । प्रयोगशाला नभएका स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय प्रविधिमैत्री प्रयोगशाला सञ्चालन गरिने, जेष्ठ नागरिक, असहाय शारीरिक अशक्त तथा दीर्घरोगीहरुका लागि गाउँपालिका अध्यक्षसँग विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

यसैगरी पूर्वाधार विकासमा पनि नीति तथा कार्यक्रमले जोड दिएको छ । गाउँपालिका स्तरीय सडक तथा यातायात गुरुयोजना अनुसार सडक नालीको निर्माण र मर्मत सम्भार गर्ने, सडक सञ्जाल विस्तार र स्तरोन्नतिका लागि संघ प्रदेश सरकारसँग आवश्यक समन्वय गर्नुका साथै कार्यक्रम सञ्चालन गरिने, अत्यावश्यक स्थानमा पुलपुलेसा र कल्भर्ट निर्माणलाई निरन्तरता दिइने विषयलाई पनि नीति तथा कार्यक्रमले समेटेको छ । गाउँसभाको आजको बैठकमा वडा नम्बर ६ का वडा अध्यक्ष लवराज खरेल, वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु र वडा ९ का वडा अध्यक्ष सोहनलाल थारुले आआफ्नो मन्तव्य राखेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले बताए । नीति तथा कार्यक्रम र बजेटमाथि आगामी १४ गते बस्ने बैठकमा दफावर छलफल हुने प्रमुख प्रशासकीय अधिकृत एडीले बताए ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्