जलेश्वर नगरपालिकाको कार्यवाहक मेयर र उपमेयरमा नियुक्त भए दुई वडाध्यक्ष

शुक्रबार, असार ७, २०८१
honor mob  winter sales

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकामा कार्यवाहक प्रमुख र उपप्रमुख नियुक्त गरिएको छ।कार्यवाहक प्रमुखमा वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र यादव र उपप्रमुखमा वडा ३ का वडाध्यक्ष रतन चौधरी नियुक्त भएका हुन्।

Honor x7 pad

उनीहरूलाई बाँकी कार्यपालिका सदस्यहरूले बहुमतीय प्रणालीबाट कार्यवाहक  नियुक्त गरेको हो।

नगरपालिकामा कार्यवाहक प्रमुख र उपप्रमुख नियुक्त भएपछि ठप्प रहेको कामकाज अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले जानकारी दिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जना निलम्बनमा परेका थिए।

गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेपछि उनीहरू निलम्बनमा परेका हुन्।

प्रमुख र उपप्रमुख र आवश्यक जनशक्तिको अभावमा आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि विभिन्न काम रोकिएको अवस्था थियो।

नगरपालिकाको कार्यपालिका सदस्यले बैठकले बहुमतीय प्रणालीका आधारमा कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेपछि अब सबै कामकाजले गति लिएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए।

आर्थिक वर्ष २०७९-८० मा नगरपालिकाद्वारा वडा नं १ मा अवस्थित वरुण सरोवर पोखरीको दक्षिण र पश्चिम डिलमा रहेको हाट बजारमा पिसीसी ढलान कार्यमा भ्रष्टाचार भएको उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेको थियो।

मुद्दा दायर भएपछि नगरपालिकाका प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वरिष्ठ इञ्जिनियर पवनकुमार झा, अधिकृत छैटौँ धीरेन्द्र झा, इञ्जिनियर राकेशकुमार चौधरी, सवइञ्जिनियर दिपेशकुमार साह, त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी निलम्वन तथा कारबाहीमा परेका थिए। 

उनीहरुले हाटबजारमा भएको वास्तविक ढलान कार्यभन्दा बढी कार्य भएको भनी गलत विवरण तयार गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको बिल र अनुगमन प्रतिवेदन जाँच नै नगरी भुक्तानीका लागि पेस गरिएको टिप्पणी सदर गरी रु पाँच लाख ८४ हजार ६३७ बढी भुक्तानी गरिएको भन्दै अख्तियारल मुद्दा दायर गरिएको थियो। रासस।

 

 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्