दमकललाई चाहिने पानीको स्रोत व्यवस्थापनका लागि 'पानी भण्डारण केन्द्र'

सोमबार, जेठ २८, २०८१
honor mob  winter sales

बाँके । बाँकेको नेपालगञ्जमा दमकललाई चाहिने पानीको स्रोत व्यवस्थापनका लागि पानी भण्डारण केन्द्र स्थापना गरिएको छ । आगलागीका घटना नियन्त्रण गर्नका लागि दमकलमा पानी भर्ने स्थानको अभाव भएपछि पानी समक केन्द्र (पानी ट्यांकी/भण्डारण) को स्थापना गरिएको हो ।

Honor x7 pad

आगलागीका घटनामा आकस्मिक सेवाका लागि नगरका विभिन्न नाकामा सहजरुपमा पानीको स्रोत भण्डारण केन्द्र नहुँदा समस्या थियो । उक्त समस्यालाई मध्यनजर गर्दै खानेपानी संस्थान कार्यालय अगाडि पानी समक केन्द्र स्थापना गरेको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र नेपालगञ्जका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । उनले भने, “केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगलागी भइहाले पनि अब इनारको पानी जम्मा गरिएको ट्याङ्कीमा बस्तीभित्र पुग्ने पाइप जडान गरी आगो नियन्त्रण गरिनेछ ।”

दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेको बस्तीमा आगलागी नियन्त्रणका लागि इनारबाट पानी सङ्कलन गरी ‘ड्राइ फायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ। यो विधिमा इनारको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्ने गरी पाइप जडान गरिएको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले बताए । उनका अनुसार नेपालगञ्ज वडा नम्बर ७ मा इनारलाई संरक्षण गरी चार हजार लिटर पानी भण्डारण गरिएको छ ।

अहिले नेपालगञ्जमा दमकल रहेको स्थानमा १२ हजार लिटरको अन्डरग्राउण्ड पानी ट्यांकी रहेको बारुण यन्त्र इकाई प्रमुख झइन बहादुर खड्काले बताए । उनका अनुसार खाली दमकलमा पानी भर्न करिब २० मिनेटको समय लाग्ने गर्दछ ।

नेपालगन्जको खानेपानी संस्थान कार्यालयमा ४ लाख ५० हजार लिटर र कार्यालय अगाडि सुर्खेतरोडमा पानी भण्डारण केन्द्र स्थापना गरिएको छ । दमकललाई चाहिने पानी कार्यालयबाट जतिबेला पनि भर्न सक्ने व्यवस्था रहेको खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरि कुमार श्रेष्ठले बताए ।

नेपालगञ्ज शहर विकास, बिस्तार र बाक्लिने क्रमसंगै यहाँ आगलागीका घटना बढ्न थालेको तथ्यांकले देखाएको छ । आगलागीका घटना बढ्न थालेसंगै त्यसको नियन्त्रणको प्रयास गर्न नेपालगञ्जमा अहिले शहरी विपद् तथा भूकम्पिय पूर्व तयारी परियोजना (सुपर) सञ्चालन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्