दुर्गमका सबै पालिकामा सुलभ रुपमा नुन उपलब्ध गराउन निर्देशन

सोमबार, वैशाख ३१, २०८१
honor mob  winter sales

काठमाडौं । दुर्गम जिल्लाका सबै पालिकाहरूमा सुलभ रूपमा नुन उपलब्धता गराउन सरकारलाई  संसदीय समितिले निर्देशन दिएको छ ।

Honor x7 pad

आज प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दुर्गम जिल्लाका पालिकाहरूमा अझै पनि नुनको अभाव रहेको भन्दै सबै पालिकामा सुलभ रूपमा नुन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो । 

समितिले साल्ट ट्रेडिङ्ग कर्पोरेशनबाट आपूर्ति हुने गरेको रासायनिक मल, चिनी लगायत अत्यावश्यक खाद्य वस्तुहरूको गुणस्तर कायम गर्न पनि निर्देशन दिएको छ । त्यस्तै कालोबजारी र कृत्रिम अभावको अन्त्य गर्न पनि समितिले भनेको छ । समितिले सरकारलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई भुक्तानी दिनुपर्ने रकम भुक्तानीको व्यवस्था मिलाउन पनि निर्देशन दिएको समिति सभापति अब्दुल खानले बताए ।

उनले भने – ‘नुन मानव जातिका लागि प्रमुख खाद्य पदार्थ हो । नुनको आपूर्ति नेपालको सुगम क्षेत्रमा केही सहजता भए पनि दुर्गम जिल्लाका पालिकाहरूमा अझ पनि अभाव रहेको हुनाले मुलुकको सबै पालिकाहरूमा सुलभ रूपमा नुनको उपलब्धताको सुनिश्चितताका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने । साल्ट ट्रेडिङ्ग कर्पोरेशनबाट आपूर्ति हुने गरेको रासायनिक मल, चिनी लगायत अत्यावश्यक खाद्य वस्तुहरूको गुणस्तर कायम गर्दै ती वस्तुहरूको कालोबजारी, कृत्रिम अभावको अन्त्य गर्दै सरल आपूर्ति व्यवस्था मिलाउन नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन गर्ने। साल्ट ट्रेडिङ्ग कर्पोरेसनको सहज सञ्चालनका लागि उक्त संस्थाबाट विभिन्न शीर्षकमा नेपाल सरकारलाई भुक्तानीको लागि दाबी भएको रकमको भुक्तानीका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार, अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने।’

समिति बैठकमा साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले गरेका काम, कारबाहीहरूको सम्बन्धमा छलफल भएको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्