सय मिटर लामो गुफा भेटियो

आइतबार, चैत ११, २०८०
honor mob  winter sales

कुश्मा।  पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घामा १ सय मिटर लामो नयाँ गुफा फेला परेको छ । कुर्घाको समथर फाँटमा भेटिएको गुफाभित्र पत्थरबाट बनेका नागदेवताका विभिन्न आकृति, गाई, गाईका थुन र अन्य देवीदेवताका आकर्षक मूर्ति भेटिएका छन् । 

Honor x7 pad

गुफाका हरेक भागका पत्थरमा नागका मूर्ति प्रशस्त मात्रामा भेटिएकाले स्थानीयले यसको ‘नागगुफा’ नाम राखेका छन् । यहाँभित्र विभिन्न धातुबाट बनेका मूर्ति पनि भेटिएका छन् ।

आजभन्दा २५–३० वर्षअघि नै गुफा भेटिएको भए पनि स्थानीयले खासै चासो दिएका थिएनन्। सामान्य प्वालजस्तो ठानेर स्थानीयवासीले बेवास्ता गरेको भए पनि पछिल्लो समय स्थानीयले खोजी गर्दा विशाल गुफा भेटिएको स्थानीय अगुवा भवानीप्रसाद शर्माले बताए ।

गुफा भेटिएसँगै स्थानीय यसको प्रचारप्रसार र प्रवर्द्धनमा जुटेका छन् । यसको उचित ढङ्गले प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका आकर्षणको केन्द्रका रुपमा यसलाई विकास गर्न सकिने फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले बताइन्। 

उनले भनिन्, “गुफाभित्र विभिन्न देवीदेवताका आकृतिमात्र नभई धातुबाट बनेका मूर्ति भेटिएकाले यसले पौराणिक र ऐतिहासिक महत्व बोकेको हुनसक्ने भन्दै अनुसन्धान गरिने बताइन्।

उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नजिकै पर्ने भएकाले पनि यसले जिल्लाकै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने स्थानीय मेघराज लम्सालले बताए । यो गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्नसके कालीगण्डकी करिडोर हुँदै भारत र चीनको स्वशासित क्षेत्र तिब्बत आवतजावत गर्ने पर्यटकका निम्ति आकर्षक गन्तव्य बन्ने उनको भनाइ छ । 

स्थानीयवासीले आगामी नागपञ्चमीमा विशेष पूजाआजा गरी यसको प्रचारप्रसार तथा भौतिक पूर्वाधार निर्माणमा अघि बढ्ने योजना बनाएका छन् । पूर्वाधार निर्माण गर्न समिति बनाएर तीनवटै तहका सरकारसँग योजना माग गरिने लम्सालले जानकारी दिइन्। रासस।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्