कांग्रेस महासमिति बैठकको बन्द सत्रमा आज प्रतिवेदनमाथि छलफल सुरु हुँदै

मंगलबार, फागुन ८, २०८०
honor mob  winter sales

काठमाडौं । सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्रमा आज विभिन्न प्रस्तावहरुमा सामूहिक छलफल सुरु हुने कार्यक्रम  छ ।

Honor x7 pad

महासमिति बैठकको प्रचार प्रसार उपसमिति संयोजक रहेका मीन विश्वकर्माले महासमिति बैठकमा आजदेखि विभिन्न समूहमा रहेर नीति, सांगठनिक, समसामयिक, अर्थ र लेखासम्बन्धी प्रस्तावहरुमाथि छलफल सुरु हुने बताए।

आज बिहान ९ बजेदेखि सुरु हुने महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन, महामन्त्री गगन कुमार थापाको सांगठनिक प्रतिवेदन, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदनमाथि छलफल हुने छ। 

त्यस्तै बैठकमा अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतको अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे र श्याम घिमिरेको लेखा सम्बन्धी प्रतिवेदन पनि पेश हुने भएको छ।

महामन्त्री थापाको प्रतिवेदनलाई गएराति अन्तिम टुंगो लगाइएको थियो । देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा छलफलमा चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव महासमिति बैठकमा लैजाने सहमति जुटेको कांग्रेसका एक जना  नेताले बताए ।

प्रस्तावहरुमाथि छलफल गर्न ‘तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाइनेछ,’ प्रचार प्रसार उपसमिति संयोजक विश्वकर्माले भने, ‘६० प्रतिशत प्रतिनिधिले बोल्न पाउने अवस्था हुन्छ ।’

नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सभापति देउवाले सोमबार उदघाटन गरेका थिए । नीति महाधिवेशनको रुपमा समेत लिइएको कांग्रेस महासमिति बैठक फागुन १० गतेसम्म बस्ने छ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्