जनताले नै यो सरकारलाई असक्षम घोषणा गर्ने बेला आयो: महासचिव पोखरेल

सोमबार, माघ १, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार राष्ट्रिय हितका प्रश्नमा विदेशी स्वार्थका सामु लम्पसारबादी भएको टिप्पणी गरेका छन् । 

Honor x7 pad

प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारको लम्पसारबादी प्रवृत्ति विरुद्ध एमाले जनतामाझ गइरहेको बताए । 

आफ्नो पार्टी कुनै समीकरणको जोडघटाउमा नलागी मुलुकको सुरक्षित भविष्यका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेको बताउँदै उनले जनसरोकारका प्रश्न अगाडि सारेर सरकारमाथि दबाब बढाउन एमाले जनतामाझ गइरहेको उल्लेख   गरे । उनले नेपाली जनताले अब यो सरकारलाई असक्षम घोषणा गर्ने बेला आएको जिकिर गरे । सरकार हरेक हिसाबले असक्षम सावित भएको जिकिर गर्दै उनले जातीय तथा धार्मिक अतिवाद प्रवर्द्धन गर्ने काम सरकारले गरिरहेको दाबी गरे । 

पोखरेलले मंसिरमा सम्पन्न पार्टीको 'समृद्धिका लागि संकल्पयात्रा' बारे प्रष्ट्याउँदै उहाँले मध्य पहाडलाई नेपालको विकास र समृद्धिको आधारशिलाको रुपमा विकास गर्ने अवधारणा तयार गर्ने योजनामा रहेको बताए । विकास मध्य पहाडतर्फ जाने तर बसाइँ तराईतिर सर्ने समस्याको समाधान खोज्ने प्रयास स्वरुप नेकपा एमालेलेले मध्यपहाडी लोकमार्गलाई केन्द्रविन्दु बनाएर समृद्धिका लागि संकल्प यात्रा सम्पन्न गरेको उनको भनाई छ । उनले नेकपा एमालेले भविष्यमा नेपालको सीमावर्ती क्षेत्र हुलाकी सडकलाई पनि केन्द्रविन्दु बनाएर यस्तै खाले संकल्प यात्रा गर्ने तयारी गरेको बताए। 

"नेपालको सन्दर्भमा भन्ने हो भने हुलाकी सडकसंग जोडिएको क्षेत्र जो पछाडि परेको छ र मध्यपहाडको क्षेत्र जो आर्थिक क्रियाकलाप र रोजगारीको अभावमा बसाइँ सरिरहेको छ, यी दुई वटा क्षेत्रलाई केन्द्रविन्दु बनाएर मुलुकको विकास र समृद्धिको योजना अगाडि सार्ने हो भने जनतामा बढ्दै गइरहेको निराशालाई फेरि आशामा बदल्न सकिन्छ भन्ने हाम्रो विश्वास हो," महासचिव पोखरेलले भने । 

प्रेस चौतारी नेपाल बाँके शाखाका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्यहरु सूर्य ढकाल, पशुपतिदयाल मिश्र, मोहम्मद हारुन, बाँके जिल्ला अध्यक्ष किष्मतकुमार कक्षपति लगायत नेता कार्यकर्ता उपस्थित थिए ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्