जनशक्ति अभावले गुल्मी अस्पतालको आइसियु सेवा अलपत्र

बुधबार, पुस ११, २०८०
honor २२ sept

तम्घास । गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष (आइसियु) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन ।

X7D

आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ । 

जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७-७८ मा सघन उपचार कक्ष (आइसियु) भवनको निर्माण गरिएको थियो । भवन सञ्चालनमा नआउँदा एकातर्फ बिरामी आइसियुको सेवा लिन पाल्पा जान बाध्य छन् भने अर्कोतर्फ निर्माण गरिएका संरचना प्रयोग नभएर धुलाम्य बनेका छन् । 

“भवनको बजेट परेका बेला दलका नेतालाई जस लिनको भ्याइनभ्याइ भयो, तर अहिले सञ्चालनमा कसैले चासो दिएनन्”, अस्पतालमा सेवा लिन आउनुभएका धुर्कोट गाउँपालिका-५ वस्तुका महेन्द्र भण्डारीले भने, “छिटोभन्दा छिटो सञ्चालन गरेमा आइसियुको सेवा लिन पाल्पा वा बुटबल जानुपर्ने बाध्यता हट्ने थियो ।”

आइसियुको संरचना निर्माणमा हालसम्म  ३५ लाख ५२ हजार तीन सय ६२ रुपैयाँ  र उपकरण खरिदमा  ६६ लाख २६ हजार नौ सय २५   गरी कूल एक करोड एक लाख ७९ हजार दुई सय ८७ रुपैयाँ   खर्च भएको छ । प्रदेश सरकारअनुसार अस्पताल विकास समिति परिवर्तन हुने हुँदा त्यसको असर अस्पतालमा परेको छ ।

“पाँच शैय्याको आइसियु सञ्चालनका लागि २५ जना दक्ष स्वास्थ्यकर्मीको आवश्यकता पर्ने भए पनि सबै जनशक्ति उपलब्ध छैन”, अस्पतालका प्रमुख डा विकास बञ्जाडेले भने, “हामी अहिले जनशक्ति व्यवस्थापनमा जुटिरहेका छौँ ।”

अस्पतालमा गुल्मीका साथसाथै छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकसमेत सेवा लिन आउने गर्दछन् । रासस

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्