Dashain Banner
Dashain Banner

निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ जनाले लिए सेवा

आइतबार, मंसिर १०, २०८०

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–९ जनता माविमा भएको निःशूल्क स्वास्थ्य शिविरमा ६१५ जनाले सेवा लिएका छन् ।

राप्तीसोनारी गाउँपालिकाले बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ अर्जुनबाण गण ओभरी र एचसीआरसीसँगको समन्वय र सहकार्यमा आयोजना शनिबार गरिएको स्वास्थ्य शिविरमा ६१५ जनाले सेवा लिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार स्थानीयबासीलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यका साथ शिविर आयोजना गरिएको हो । स्त्री तथा प्रसूति सेवा ११२ जनाले, अर्थोपेडिक सेवा २४८ जनाले, मेडिसिन सेवा २५० जनाले, छाला रोग उपचार सम्वन्धी सेवा ६२ जनाले, इएनटी सेवा २६१ जनाले र मुटु रोग सम्वन्धी सेवा ८० जनाले लिएको केसीले बताए । त्यसमा ३२ जनाले ल्याव सेवा र ४५ जनाले इसीजी सेवा समेत लिएका थिए । 

अर्जुनबाण गणका अर्थोपेडिक सर्जन डा.अमृतरत्न शाक्य, नेपाली सेनाकै फिजिसियन डा.सुरेश कायस्थ, भेरी अस्पतालका कार्डियोलोजिष्ट डा.विकास नेपाल, डर्माटोलोजिष्ट डा.कमलजंग शाही, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मञ्जु विसी शाह, इएन्टी सर्जन डा.कविर वास्तोलासहित पालिकाका १५ जना स्वास्थ्यकर्मीले बिरामीलाई सेवा दिएका थिए ।

निःशूल्क स्वास्थ्य शिविरको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले विशेषज्ञ  चिकित्सकसहितका यस्ता शिविरले स्वास्थ्य सेवासँगको पहुँच स्थापित हुने बताए । उनले गाउँपालिकाले स्वास्थ्य सेवालाई सबैको पहुँचमा ल्याउन प्रभावकारी ढंगबाट काम गरिरहेको पनि बताए। आफ्नै टोल तथा छरछिमेकमा हुने यस्ता शिविरले विशेषज्ञ सेवा लिन बजार धाउनु पर्ने अवस्थाको अन्त्य गरेको अध्यक्ष पौडेलले बताए।

बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ अर्जुनबाण गणसँगको सहकार्यमा अन्य ठाउँमा पनि स्वास्थ्य शिविर राख्ने गरी पालिकाले योजना बनाउने पनि उल्लेख गरे । गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले पालिकाले स्वास्थ्य सेवालाई प्राथमिकता दिएर काम गरिरहेको बताइन् । उनले बाआमासँग अध्यक्ष, गर्भवतीसँग उपाध्यक्ष लगायतका कार्यक्रमहरु गरेर पालिकाले सबै उमेर समूहका व्यक्तिहरुको स्वास्थ्यप्रति संवेदनशीताको नमूना देखाएको बताइन् । 

उनले घरदैलोमा आयोजना गरिने स्वास्थ्य शिविरले खासगरी महिला, जेष्ठ नागरिकहरुलाई लाभ पुग्ने विश्वास व्यक्त गरिन् । बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ अर्जुनबाण गण ओभरीका निमित्त गणपति गंगाधर खत्रीले स्थानीय सरकारले आयोजना गरेको शिविरमा  समन्वय र सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपाली सेना जनताको सेवाका निमित्त सधै तयार रहेको बताए । 

 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्