एनआरएनए निर्वाचन: महेश प्यानलका रेग्मी,शेरचन र सापकोटाको उम्मेदवारी दर्ता

शनिबार, असोज २७, २०८०
Honor 600 pro

काठमाडौं । यही अक्टोबर १७-२० सम्म हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनका लागि प्रजातान्त्रिक धारको महेश’ प्यानलबाट उम्मेदवारी दर्ता हुन सुरु भएको छ।

११ औं महाधिवेशनका लागि महेश श्रेष्ठको प्यानलबाट कतारस्थित  एक सफल  व्यवसायी  राजु रेग्मी (राज) तथा  जापानस्थित व्यवसायी रोबिन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्  । त्यस्तै उपमहासचिवमा महेश प्यानलका सोम सापकोटाले पनि उम्मेदवारी दिएका छन् ।

उनीहरुले काठमाडौँस्थित एनआरएनए केन्द्रीय कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचनका लागि जापानका गोविन्द प्रसाद श्रेष्ठले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।  हङकङ्ग निवासी राधिका गुरुङले आइसीसी महिला सचिवमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

जापानका पारसमणी पोखरेलले सचिव पदमा मनोनयन दर्ता गराएका छन् भने अमेरिकाका सिपी पौडेलले सह कोषाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । जापानका शिव पौडेलले एसिया प्रशान्त संयोजकमा तथा प्रदीप न्यौपानेले एसिया प्रशान्त क्षेत्रीय संयोजक पदमै मनोनयन दर्ता गराएका छन् ।

सुरेन्द्र घिसिङले युवा संयोजकमा, अष्ट्रेलियाका दिनेश पोखरेलले क्षेत्रीय संयोजकमा, अरुण कुमार ठाकुरले ओशियना उप संयोजकमा मनोनयन दर्ता गराएका छन्। यस्तै गोकुल घिमिरेले ओसियना उपसंयोजकमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

गैर आवासीय नेपाली संघको ११ औं महाधिवेशन यही १७ अक्टोबरदेखि काठमाडौँमा शुरु हुँदैछ । निर्वाचन प्रत्यक्ष तथा अनलाइन माध्यमबाट अक्टोबर १९ तारिखमा सम्पन्न हुनेछ।

भोलि महेश प्यानलका वर्तमान सचिव गंगाधर गौतमले पनि उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २१:५५
प्रतिक्रिया दिनुहोस्