मध्यपश्चिम समाज मेरिल्याण्डमा कृष्ण चन्दको नेतृत्वको नयाँ कमिटी चयन

सोमबार, वैशाख १५, २०८२

काठमाडौं।  नेपाली मूलका नागरिकहरूको साझा संस्था मध्यपश्चिम समाज मेरिल्याण्ड, अमेरिकाले नयाँ कार्यसमिति २०२५–२०२७ को लागि चयन गर्दै सामाजिक, सांस्कृतिक र समुन्नत भविष्यतर्फ उन्मुख हुने प्रतिबद्धता जनाएको छ। कार्यसमिति गठनको अवसरमा संस्था तथा समुदायभित्र उत्साह, उमंग र नयाँ जोश देखिएको छ।

संस्थाको अध्यक्षमा  कृष्ण चन्द सर्वसम्मत रूपमा चयन भएका छन्। अध्यक्ष चन्दले संगठनको नेतृत्व पाउँदा अत्यन्त खुशी र गर्व महसुस भएको बताउँदै, “मेरो भूमिका अब समुदायलाई अझ संगठित, सचेत र सक्रिय बनाउने हुनेछ,” भने। उनले सामाजिक, सांस्कृतिक, शैक्षिक र सेवा–आधारित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर समुदायको हितमा काम गर्ने अठोट व्यक्त गरेका छन् ।

बरिष्ठ उपाध्यक्षमा सुरेश कुमाल चयन भएका छन् । उनले भने-“समुदायप्रतिको माया, निष्ठा र सक्रियताका साथ काम गर्नेछु। मेरो कर्तव्य संस्था र सदस्यबीच एकदमै असल खालको बिर्सनै नसकिने भूमिका निर्वाह गर्नु हो, जसले हामीलाई अझ नजिक ल्याउँछ।”

त्यसैगरी महासचिवमा  लोकेन्द्र वली चयन भएका छन्  उनले भने-“सुनियोजित कार्यशैली र समर्पित भावनाले संस्था अझ व्यवस्थित र सक्षम बन्नेछ। सञ्चार, अभिलेख र कार्यक्रम व्यवस्थापनलाई प्रभावकारी बनाउनु मेरो प्राथमिकता हुनेछ।”

कोषाध्यक्षको जिम्मेवारी तिला खत्री चयन भएकी छिन्  उनले भनिन-“संस्थाको वित्तीय पारदर्शिता र जिम्मेवार खर्च व्यवस्थापन मेरो प्रमुख कर्तव्य हुनेछ। समुदायको विश्वासमा खोट नआओस् भन्ने जिम्मेवारीलाई म आत्मसात् गर्दै, प्रत्येक आर्थिक गतिविधिमा स्पष्टता र जवाफदेहिताको अभ्यास गर्नेछु।”

कार्यसमितिमा उपाध्यक्षमा राजन देवकोटा, सचिवमा खेमराज थापा, र सदस्यमा रमेश क्षेत्री, योगेन्द्र खत्री, शोभा वली, भविसरा सावद, हिक्मत बसेल, बसन्त गिरी र केशव देवकोटा चयन भएका छन् ।

साथै मध्यपश्चिम नेपाली समाज मेरिल्याण्ड अमेरिकाको सल्लाहकार समिति संयोजक राजन सुनार, सदस्यहरु बासुदेव पोखरेल,उत्तम गौली,हिक्मत बिक,राज बोहोरा,प्रशाराम देवकोटा, शंकर ओली,कन्हैया सिंह परियार,श्याम गुरुंग,बाबुराम भट्टाराई,दीपेश रावत,नेत्र अधिकारी, लक्ष्मीराम शाह ,जस्विर कुमाल ,दामोदर पोखरेल र शोभा गौतम सर्वसम्मत चयन भएका छन् ।

नयाँ कार्यसमितिबाट शिक्षा, स्वास्थ्य, युवा सशक्तिकरण, महिला सहभागिता, र कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका अभियानहरू सञ्चालन गरिने योजना बनाइएको छ। नेपाली भाषा, भेषभूषा, लोकसंस्कृति र मौलिक परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य लिइएको छ।

त्यस्तै, खेलकुदका माध्यमबाट युवाहरूलाई अनुशासित, सिर्जनशील र सकारात्मक दिशातर्फ प्रेरित गर्ने लक्ष्य लिइएको छ। नियमित फुटबल, भलिबल तथा सांस्कृतिक प्रतियोगिता सञ्चालन गर्ने तयारी पनि अघि बढाइएको छ।

संस्थाले नेपालका संघसंस्थासँग सहकार्य गर्दै अमेरिकामा बसोबास गरिरहेका नेपालीहरूको पहिचान अन्तर्राष्ट्रिय रूपमा उजागर गर्ने सोच बनाएको छ। नेपाली दूतावास, एनआरएनए, बाना र अन्य सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै सेवा प्रवाह गर्ने रणनीति बनाएको मध्यपश्चिम समाज मेरिल्याण्ड, अमेरिकाले जानकारी दिएको छ।

 कार्यसमितिबाट नेपाली समुदायभित्र सामाजिक सद्भाव, पारस्परिक सहयोग र आपसी सम्मानको भावना अझ प्रगाढ हुने अपेक्षा गरिएको छ। जनसमुदायका लागि आवश्यक सहयोग, जानकारी तथा संलग्नताको माध्यमबाट संस्था अझ प्रभावकारी र भरपर्दो बन्ने विश्वास गरिएको छ।

कार्यसमितिले सम्पूर्ण नेपाली समुदायलाई एकता र सहकार्यमा जोड दिंदै भनिएको छ – “हामी सबैको साझा प्रयासले मात्र समुन्नत र गौरवपूर्ण समुदाय निर्माण सम्भव छ।”

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्