गैर आवासीय नेपाली नागरिकता एनआरएनएका लागी ऐतिहासिक उपलब्धि: कुल आचार्य

शनिबार, असोज ६, २०८०
honor mob  winter sales

काठमाडौं । सरकारले पहिलोपटक गैर आवासीय नेपाली (एनआरएनए) हरुका लागि गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्न कानूनी बाटो खोलेको छ। 

Honor x7 pad

गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्न कानूनी बाटो खुलेकोमा विश्वभरका प्रवासी नेपालीहरुलाई एनआरएनए अध्यक्ष कुल आचार्यले बधाई दिएका छन् ।

सरकारले नेपाली नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै गैर आवासीय नेपालीहरुले नागरिकता प्राप्त गर्ने अवसर दिलाएकोमा अध्यक्ष आचार्यले नेपाल सरकारलाई धन्यवादका साथै उक्त प्रक्रियाको स्वागत समेत गरेका छन् ।

अध्यक्ष आचार्यले गैर आवासीय नेपाली नागरिकता प्राप्तीका लागि  सघाउने  सरकार, संघीय सांसद  लगायत राजनीतिक दललाई विशेष आभार प्रकट गरेका हुन् ।

अध्यक्ष आचार्यले भने-"प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिक सरहको हकका लागि हाम्रो प्रयास जारी रहने पनि दोहोराउन चाहन्छु"।

एनआरएनए अभियानमा क्रियाशील भएयता गैर आवासीय  नागरिकता प्राप्तीका लागि निरन्तर सक्रिय भएका आचार्यले प्रवासी नेपालीहरुका निम्ती ऐतिहासिक सफलता मिलेको प्रतिक्रिया दिएका छन्  । 

नागरिकता प्राप्तीका लागि ८ बर्षदेखि एनआरएनए अभियानका तर्फबाट अग्रणी भूमिका निर्वाह गरेकोप्रति आचार्यलाई अभियन्ताहरुले धन्यवाद प्रकट गरेका छन् । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता नियमावली तेस्रो संशोधन पारित गरेको थियो।

के प्रावधान?

नियमावली अनुसार एनआरएनहरुले गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन्। विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। नागरिकता लिन चाहनेहरुले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये १ जनाको नेपाली नागरिकताको आधारमा गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्ने भएको छ।

गैर आवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिबद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेस गर्नुपर्नेछ। सार्क राष्ट्रमा बसोबास गर्नेहरूले भने गैरआवासीय नेपाली नागरिकता पाउने छैनन्।

गैर आवासीय नेपालीले नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनु पर्ने उल्लेख छ। यसरी निवेदन आएपछि प्रमुख जिल्ला अधिकारीसमक्ष ती गैर आवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्नेछ।

प्रमुख जिल्ला अधिकारीलाई गैर आवासीय नेपालीले पेस गरेको विदेशको नागरिकता र राहदानीमा शंका लागेमा उनले सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावासलाई वैधता जाँच गर्न लगाउन सक्नेछन्। यसरी वैधता जाँचको निवेदन आएमा १५ दिनभित्र दूतावास वा महावाणिज्य दूतावासले बुझेर जानकारी गराउनुपर्छ। 

गैर आवासीय नेपाली नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिबद्धता अर्थात् शपथ गराउनुपर्नेछ। नेपाली नागरिकता लिन चाहने गैर आवासीय नेपालीले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने व्यवस्था समेत गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्