'सेटिङ प्रकरण’मा सरकारमाथि प्रश्न उठाउँदै महामन्त्री पौडेलले मागे संसदीय छानबिन

सोमबार, कात्तिक १६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी शासनलाई कमजोर बनाउँदै स्वेच्छाचारी शैली अपनाएको आरोप लगाएका छन्। उनले प्रतिपक्षी दल, संसद्, आम नागरिक तथा सञ्चार क्षेत्रप्रति सरकारको व्यवहार ज्यादतीपूर्ण बन्दै गएको टिप्पणी गरेका छन्।

सोमबार सिंहदरबारमा आयोजित कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै पौडेलले सरकारका गतिविधि नियन्त्रणबाहिर जान थालेको बताएका हुन्। उनका अनुसार सरकारले संविधान र कानुनको मर्मविपरीत काम गर्दै राज्यका संवैधानिक निकायहरूको भूमिकासमेत कमजोर पार्ने प्रयास गरिरहेको छ।

बैठकमा पौडेलले सरकारका गलत निर्णय र गतिविधिविरुद्ध संसद्मा प्रभावकारी ढंगले आवाज उठाउनुपर्नेमा जोड दिएका थिए। त्यसका लागि अन्य प्रतिपक्षी दलहरूसँग समेत समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक तत्काल बोलाउन सरकारसँग माग गर्नुपर्ने धारणा पनि राखेका थिए।

यसैगरी, अदालतमा न्यायाधीश, सरकार प्रमुख तथा प्रहरी नेतृत्वसमेत जोडिएको भनिएको ‘सेटिङ प्रकरण’बारे निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्ने पौडेलले बताएका छन्। उक्त प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने उनको माग थियो।

सरकार आफैंले यस विषयमा निष्पक्ष छानबिन गर्नेमा विश्वस्त हुन नसकिने उल्लेख गर्दै उनले संसदीय समितिमार्फत घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखेका थिए।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  ११:४९
प्रतिक्रिया दिनुहोस्