सरकारलाई सहयोग पनि गर्छौँ, गलत कदमको प्रतिवाद पनि: सभापति गगन थापा

आइतबार, कात्तिक १५, २०८३

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैलीले कानुनी तथा लोकतान्त्रिक सीमा नाघेको आरोप लगाएका छन्। सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै उनले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य-मान्यतामाथि हस्तक्षेप गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका हुन्।

पार्टी कार्यालय सानेपामा आयोजित आजको पत्रकार सम्मेलनमा थापाले समाचार प्रकाशित भएको विषयलाई लिएर सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिनु गम्भीर आपत्तिजनक घटना भएको बताए। उनले उक्त घटनाले शाही शासनकालमा मिडिया हाउसमा सुरक्षाकर्मी प्रवेश गरेको घटनाको स्मरण गराएको उल्लेख गरे।

नागरिक दबाब र विरोधपछि पक्राउ परेका पत्रकारहरू रिहा भए पनि घटनालाई केही पत्रकार पक्राउ परेको विषयमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो। यसले सरकारले राज्यको अधिकार, नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कसरी बुझिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको उनले बताए।

कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहेकाले आवश्यक पर्दा सरकारलाई सहयोग गर्ने र राष्ट्रिय संकटका बेला सरकारसँगै उभिने उल्लेख गर्दै थापाले लोकतन्त्र र नागरिक अधिकारको सवालमा भने सरकारको गलत कदमको प्रतिवाद गर्ने स्पष्ट पारे।

उनले भने, ‘हामी प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छौँ। प्रमुख प्रतिपक्षको जिम्मेवारी पनि नयाँ परिवेशमा नयाँ ढङ्गले होस् भन्ने आम नागरिकको अपेक्षा छ। हामी त्यहीअनुरूपको भूमिका निर्वाह गर्छौं। जहाँ साथ दिनुपर्ने हो, दिन्छौँ। जहाँ सहयोग गर्नुपर्ने हो, गर्छौं। तर जहाँ लोकतन्त्र, नागरिकको अधिकार र जनताको मौलिक हकको कुरा हुन्छ, ती विषयमा सरकारले सीमा नाघ्छ भने हामी चुप बस्दैनौँ। हामी प्रश्न गर्छौं, उपयुक्त नीतिको पैरवी गर्छौं र आवश्यकता परे प्रतिवाद तथा प्रतिरोध पनि गर्छौं।’

थापाले सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले केही वर्षअघिको शाही शासनकालको घटनालाई स्मरण गराएको बताए। पत्रकारहरू रिहा हुँदैमा घटना समाप्त नहुने भन्दै उनले यसको गम्भीरताबारे सबै पक्षले ध्यान दिनुपर्ने धारणा राखे।

प्रहरी राजनीतिक तथा प्रशासनिक नेतृत्वको निर्देशनबिना सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेको भन्नेमा विश्वास गर्न कठिन रहेको उनको टिप्पणी थियो। नेपाल प्रहरीका पछिल्ला निर्णय र गतिविधिलाई हेर्दा प्रहरी आफैँले निर्णय गरेर मिडिया हाउसमा प्रवेश गर्न नसक्ने उनको भनाइ थियो।

उनले प्रहरी प्रधानमन्त्रीसँगको कुराकानीपछि नै सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेको हुन सक्ने धारणा व्यक्त गरे।

सरकारमा बसेका केही व्यक्तिले आफूहरू नै राज्य भएको र आफ्ना भनाइलाई कानुनसरह ठान्ने प्रवृत्ति देखिएको भन्दै थापाले राज्यका निकायहरूलाई निजी आदेश पालना गर्ने संस्थाका रूपमा बुझ्नु शक्तिको स्वेच्छाचारी प्रयोग भएको बताए।

उनले भने, ‘डेमोक्रेसीमा सरकारसँग अधिकार हुन्छ, हामी त्यसलाई मान्छौँ। तर सरकारको अधिकार कहाँबाट उत्पन्न हुन्छ रु कानुनबाट उत्पन्न हुन्छ। जब सरकारमा बसेका मानिसहरूलाई मेरो इच्छा नै कानुन हो भन्ने लाग्न थाल्छ, त्यसपछि समस्या सुरु हुन्छ। अहिले भएको त्यही नै हो।’

थापाले सरकारको कार्यशैलीमा देखिएको प्रवृत्तिलाई सामान्यीकरण नगर्न सञ्चारमाध्यम, नागरिक समाज र राजनीतिक दलहरूलाई आग्रह गरे। लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने अवस्था आए कांग्रेसले निरन्तर प्रश्न उठाउने, उपयुक्त नीतिको पैरवी गर्ने र आवश्यक परे प्रतिरोधसमेत गर्ने उनले स्पष्ट पारे।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १९:५६
प्रतिक्रिया दिनुहोस्