सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको नागथानमा भएको सवारी दुर्घटनामा तीन महिलाको ज्यान गएको छ भने तीन जना अझै बेपत्ता छन्। दुर्घटनामा चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार काठमाडौंबाट खोटाङका लागि छुटेको को १ ज २९७६ नम्बरको टाटा सुमो फिक्कल गाउँपालिका–६ स्थित नागथानमा आज बिहान करिब साढे २ बजे सडकबाट चिप्लिएर सुनकोशी नदीमा खसेको थियो। गाडी सडकबाट करिब २०० मिटर तल नदीमा पुगेको बताइएको छ।
दुर्घटनामा ज्यान गुमाएका तीनै जना महिला हुन्। उनीहरूको शव फेला परे पनि पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनामा घाइते भएका चालक आशिष विष्टसहित चार जनालाई उद्धार गरेर उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा पुर्याइएको छ। घाइतेमध्ये खोटाङको दिक्तेलका सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र १३ वर्षीय अंकित विक छन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
नदीमा बेपत्ता भएका तीन जनाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उद्धारसँगै दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ६० किलोमिटर पूर्वमा रहेको छ।