Dashain Banner
Dashain Banner

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइँदै

शुक्रबार, असोज ३०, २०८३

काठमाडौं। रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ।

उनीहरूको कानुनी अवस्था यकिन गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आधिकारिक विवरण सङ्कलन तथा प्रमाणीकरण प्रक्रिया सुरु गरेको हो।

विशेष प्रक्रिया, २०८३ अनुसार सम्बन्धित स्थानीय तहले वडा कार्यालयमार्फत बेपत्ता व्यक्तिका परिवारबाट निवेदन आह्वान गर्नेछन्। परिवारका सदस्यले नाता प्रमाणित गर्ने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य उपलब्ध नभएको अवस्थामा वडासचिव र स्थानीय प्रहरीको रोहबरमा सर्जमिन मुचुल्का तयार गरिनेछ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार स्थानीय तहले कात्तिक ११ गतेभित्र विवरण पालिकामा र कात्तिक १८ गतेभित्र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्नेछ। जिल्ला समितिबाट स्वीकृत भएपछि अन्तिम निर्णयका लागि विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रदेश मन्त्रालयमा पठाइनेछ।

जिल्ला प्रशासन कार्यालयका अनुसार भोटेकोशी बाढीमा परी काभ्रेपलाञ्चोकका चार जनाको मृत्यु पुष्टि भइसकेको छ भने ३७ जना अझै बेपत्ता छन्। उनीहरूको कानुनी अवस्था यकिन गर्न प्रशासनले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०७:१५
प्रतिक्रिया दिनुहोस्