सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि सुरु हुनेछ।
यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका तय गरिएको थियो। तर वर्षा तथा केही प्राविधिक समस्याका कारण मतदानको समय तीन घण्टा पछि सारिएको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन्।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले पार्टीको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
प्रतिनिधिहरूको सहजताका लागि काठमाडौंका तीन स्थानमा सातवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। प्रदेश तथा प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै केन्द्र तोकिएका छन्।
कहाँ-कहाँ हुँदैछ मतदान ?
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।
त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ।
खुलामञ्चमा भने कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्नेछन्।
मतदानका क्रममा प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरेपछि मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले आफूलाई तोकिएको मतदान केन्द्रमै पुगेर मतदान गर्नुपर्नेछ।