सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपालगन्जमा प्रहरीले ४ राउन्ड हवाई फायर गर्दै ठूलो परिमाणमा खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगनबाट खटिएको संयुक्त टोलीले मंगलबार राति नेपालगन्ज उपमहानगरपालिका–१४ मा ४ राउन्ड हवाई फायर गरी भारतको बहराइचस्थित रुपैडियाको चकिया रोडका २४ वर्षीय नदीम राईलाई पक्राउ गरेको हो। प्रहरीको टोलीलाई देखेर भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा १ राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि नटेरेपछि प्रहरीले पुनः ३ राउन्ड हवाई फायर गरेपछि उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार राईको साथबाट १०३ ग्राम ७९० मिलिग्राम शुद्ध तौलको खैरो हेरोइन बरामद भएको छ। उनको साथबाट एउटा मोबाइल र भारतीय नम्बर प्लेट यूपी ४० जे ०६५७ को मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राईलाई बरामद लागूऔषध तथा अन्य सामग्रीसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।
प्रहरीका अनुसार हवाई फायरका क्रममा कुनै पनि व्यक्ति घाइते भएका छैनन्।