बाँके प्रहरीको कारबाही: १५२ मुद्दा दर्ता, १३७ प्रतिवादी पक्राउ, ६१ लागू औषध कारोबारी नियन्त्रणमा

मंगलबार, असोज ६, २०८३

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भदौ महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, सडक सुरक्षा तथा नागरिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भदौ महिनामा कुल १५२ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। तीमध्ये ७ वटा जघन्य, ५१ वटा गम्भीर र ९४ वटा सामान्य प्रकृतिका अपराध रहेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १८ वटा मुद्दा दर्ता भएका छन् भने १५ जना पक्राउ परेका छन्। आर्थिक अपराधसम्बन्धी २६ वटा मुद्दा दर्ता भएका छन्।

चालु मुद्दाका १३७ जना प्रतिवादी पक्राउ परेका छन्। सार्वजनिक चासो रहेका पेन्डिङ मुद्दामध्ये ७६ वटा सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा पनि दर्ता भएको छ।

फैसला कार्यान्वयनतर्फ ८२ जना पक्राउ परेका छन्। उनीहरूबाट १९ वर्ष १ महिना १९ दिन कैद तथा ६ लाख ११ हजार ३९३ रुपैयाँ बिगोरक्षतिपूर्ति कार्यान्वयन भएको छ।

लागूऔषधमा ६१ जना पक्राउ

भदौ महिनामा लागूऔषधसम्बन्धी २५ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा ६१ जना पक्राउ परेका छन्। प्रहरीले १४९ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, १३ किलो ६४ ग्राम अफिम, ४३ हजार १९९ क्याप्सुल ट्रामाडोल, २७ ट्याब्लेट नाइट्राजेपाम, १४८ ग्राम चरेश र १ हजार ४ सय मिलिलिटर कोरेक्स बरामद गरेको छ।

भदौ १ गते कोहलपुर नगरपालिका–११ चौतारा नजिक लागूऔषध अफिमको कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले कर्णबहादुर बुढालाई नियन्त्रणमा लिएको थियो। उनको साथबाट ९९० ग्राम अफिमजस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

बुढामाथि अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ मा डेरा गरी बस्ने टाइप सिंह गिरीलाई नियन्त्रणमा लिन खोज्दा उनी भाग्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि गिरीलाई नियन्त्रणमा लिएर उनको कोठा खानतलासी गर्दा फ्रिजभित्रबाट १३ किलो ६४ ग्राम अफिमजस्तो पदार्थ र १४८ ग्राम चरेशजस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। उक्त घटनामा अफिमजस्तो पदार्थ कुल १४ किलो ५४ ग्राम बरामद भएको थियो।

सडक दुर्घटनामा चार जनाको मृत्यु

भदौमा बाँकेमा ८५ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १३३ वटा सवारीसाधन संलग्न थिए। दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १९ जना गम्भीर र १३८ जना सामान्य घाइते भएका छन्। कुल १५७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार तीव्र गतिका कारण ७६, चालकको लापरबाहीका कारण १, चालक अनुमतिपत्र नभएका कारण ४, चौपायाका कारण १, मादक पदार्थ सेवनका कारण १, यान्त्रिक कारण १ र अन्य कारणले १ वटा दुर्घटना भएका छन्।

चेकिङका क्रममा गरिएको कारबाहीबाट १२ लाख ७७ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। यस क्रममा १ हजार ५७६ कारबाही गरिएको छ।

५२ जना हराए, ३९ जना फेला

भदौमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक गरी ५२ जना हराएको विवरण प्रहरीमा दर्ता भएको छ। जसमा महिला २५, बालिका २१, बालक ४ र ज्येष्ठ नागरिक महिला २ जना छन्। हराएकामध्ये महिला १६, बालिका १८, बालक ४ र ज्येष्ठ नागरिक महिला १ गरी ३९ जना फेला परेका छन्। फेला नपरेकामध्ये महिला ९, बालिका ३ र ज्येष्ठ नागरिक पुरुष १ जना रहेका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १०६ उजुरीमध्ये ८९ वटा फछ्र्योट भएका छन्।

घरेलु हिंसासम्बन्धी ४५ वटा उजुरी परेका छन्। तीमध्ये ४३ वटा मिलापत्र तथा अदालत पठाउने प्रक्रियाबाट फछ्र्योट गरिएको प्रहरीले जनाएको छ।

राजस्व चुहावट नियन्त्रणमा २० लाखभन्दा बढीका सामान बरामद

राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा २० लाख ८२ हजार ८९० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। घटनामा एक जना पक्राउ परेका छन्।

अवैध मदिरा नियन्त्रणतर्फ १ हजार ६१ लिटर घरेलु मदिरा नष्ट गरिएको छ भने दुई जना नियन्त्रणमा लिइएका छन्। प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ आठ वटा सवारीसाधन नियन्त्रणमा लिई ४१ हजार रुपैयाँ जरिवाना गरिएको छ।

वन पैदावार चोरी–निकासी नियन्त्रणतर्फ ४।३१ क्युफिट काठ नियन्त्रणमा लिइएको छ।

११६ वटा सचेतनामूलक कार्यक्रम

अपराध न्यूनीकरणका लागि विद्यालय तथा समुदायमा ११६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

विद्यालय केन्द्रित १६ वटा सचेतनामूलक कार्यक्रममा ३७४ बालक र ३२६ बालिका गरी ७०० विद्यार्थी सहभागी भएका थिए।

प्रहरीले नियमित शान्ति सुरक्षाका क्रममा भदौमा ९९२ पटक पिकेट, ४ हजार १८ पटक ग्रामीण गस्ती, ३४१ पटक चेकिङ तथा चार पटक ग्रामीण गस्ती सञ्चालन गरेको जनाएको छ।

विभिन्न विशेष परिस्थितिमा पाँच वटा कार्यक्रममा १७० जना प्रहरी कर्मचारी परिचालन गरिएको थियो।

भदौमा दुई वटा विपद्का घटना भएका थिए। विपद्बाट २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ भने ११ जना प्रहरी परिचालन गरिएको थियो।

प्रहरी कार्यालयका हटलाइन तथा सम्पर्क नम्बरमा १ हजार ५१० वटा कल प्राप्त भएका छन् भने नागरिक सहायता कक्षमा १ हजार ९०९ सेवाग्राही दर्ता भएका छन्। यसैगरी, नरैनापुर गाउँपालिका–५ बटैया गाउँको सभाहलमा सार्वजनिक तथा नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा ३० जना सहभागी भएका थिए।

सहभागीले बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रण तथा भन्सार छली नियन्त्रणका लागि समुदाय, भन्सार र प्रहरीबीच प्रभावकारी साझेदारी आवश्यक रहेको विषय उठाएका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेले भदौ महिनामा प्रहरी कर्मचारीको मनोबल वृद्धि, महिला प्रहरी कर्मचारीका लागि तीज विशेष कार्यक्रम तथा सीमान्तकृत, अल्पसंख्यक र पिछडिएका वर्ग लक्षित कार्यक्रमसमेत सञ्चालन गरिएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ११:४९
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह