सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । मौसममा आएको परिवर्तनसँगै आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार साँझ जारी मनसुन विशेष मौसम बुलेटिनमा उक्त अवधिमा वर्षासँगै मेघगर्जन, चट्याङ र हावाहुरीको समेत सम्भावना रहेको उल्लेख गरिएको छ।
महाशाखाका अनुसार बंगालको खाडीको मध्य भागमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’मा परिणत भएको छ। उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने क्रममा रहेकाले यसको प्रभाव नेपालमा बुधबारदेखि देखिने र कोशी, मधेस, बागमती तथा गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ।
असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्ने तथा कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्नसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले सम्बन्धित निकाय र सर्वसाधारणलाई अनुरोध गरेको हो।
प्राधिकरणले अत्यावश्यक कामबाहेक टाढाको यात्रा तथा रातिको समयमा यात्रा नगर्न विशेष आग्रह गरेको छ। जोखिमयुक्त सडक तथा राजमार्गमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न र स्थानीय तह तथा सुरक्षा निकायलाई सम्भावित जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन भनिएको छ।
आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्ती र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम तथा बाढीसम्बन्धी जानकारीका लागि ११४९, विपद्मा सहयोग आवश्यक परे १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।
सम्भावित वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायातमा समेत असर पर्नसक्ने महाशाखाले जनाएको छ। धानबाली भित्र्याउने समय रहेकाले मौसमको अवस्था हेरेर कृषि विज्ञको सुझावअनुसार मात्र काम गर्न पनि अनुरोध गरिएको छ।
यसैगरी, हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहण तथा अन्य गतिविधिमा संलग्न व्यक्ति र सम्बन्धित सबैलाई आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।