सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । राप्तीसोनारी गाउँपालिकाले विद्यार्थीको सिकाइ उपलब्धि बढाउनुका साथै शिक्षक र अभिभावकको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले शैक्षिक उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित सुरु गरिएको कार्यक्रम पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर ६, २ र ३ मा सञ्चालन भइरहेको छ। असोज ४ गतेदेखि सुरु भएको कार्यक्रम असोज ६ गतेसम्म चल्नेछ । कार्यक्रमअन्तर्गत पहिलो दिन सांगीतिक पीटी, प्रार्थना व्यवस्थापन तथा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघका पदाधिकारीका लागि उत्प्रेरणात्मक सत्र सञ्चालन गरिएको छ । दोस्रो दिन अभिभावकलाई समेत सहभागी गराएर कार्यक्रमलाई थप विस्तार गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत मोहन विसीले विद्यार्थीको सिकाइ सुधारका लागि विद्यालयको प्रयास मात्रै पर्याप्त नहुने बताए । उनका अनुसार विद्यार्थीको शैक्षिक विकासमा शिक्षक र अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले तीनै पक्षबीच सहकार्य बढाउन कार्यक्रम आयोजना गरिएको हो । ‘शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक तीनवटै पक्षको भूमिका महत्वपूर्ण हुन्छ । यी तीन पक्षले आ–आफ्नो भूमिका सशक्तरूपमा निर्वाह गर्न सके मात्रै अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सकिन्छ,’ विसीले भने । उनले कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकलाई एकअर्काको जिम्मेवारी बुझ्न तथा शैक्षिक सुधारमा संयुक्त रूपमा अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए । विद्यार्थीको सिकाइमा घर र विद्यालय दुवैको वातावरणले प्रभाव पार्ने भएकाले अभिभावकको सक्रिय सहभागितालाई पनि कार्यक्रममा प्राथमिकता दिइएको उनको भनाइ छ । कार्यक्रममा ‘सिक्दै सिकाउँदै राष्ट्रिय अभियान’का अभियन्ताहरूले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई उत्प्रेरणात्मक प्रशिक्षण दिनेछन् । सकारात्मक सोचको विकास, सिकाइलाई व्यवहारसँग जोड्ने र विद्यार्थीको आत्मविश्वास अभिवृद्धि गर्ने विषयमा प्रशिक्षण केन्द्रित रहने गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा तीन वडाबाट सुरु गरिएको कार्यक्रम क्रमशः गाउँपालिकाका अन्य वडामा पनि विस्तार गर्ने तयारी छ । गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत करिब पाँच हजार विद्यार्थी, शिक्षक तथा अभिभावकलाई कार्यक्रममा सहभागी गराउने लक्ष्य राखिएको छ । गाउँपालिकाले शैक्षिक गुणस्तरलाई परीक्षा र नतिजामा मात्र सीमित नगरी विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकाससँग जोडेर अघि बढाउने जनाएको छ । साथै शिक्षकको शिक्षणप्रतिको जिम्मेवारी र अभिभावकको शैक्षिक भूमिकालाई पनि सँगसँगै प्रभावकारी बनाउने उद्देश्य कार्यक्रमले लिएको छ । कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकले सांगीतिक पीटी र प्रार्थनाबाट दिनको सुरुवात गरेका थिए । त्यसपछि उत्प्रेरणात्मक सत्र सञ्चालन गरिएको थियो । आगामी चरणमा अभिभावकको सहभागितामा हुने कार्यक्रमले विद्यालय र घरबीचको सम्बन्ध थप सुदृढ हुने गाउँपालिकाको अपेक्षा छ ।