सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाका अवसरमा नेपालगन्जका विभिन्न कलकारखाना तथा वर्कसपमा विशेष चहलपहल देखिएको छ ।
हिन्दू धर्मावलम्बीहरूले भगवान विश्वकर्माको जन्मदिनका रूपमा विश्वकर्मा जयन्ती मनाउने गर्छन् । यस अवसरमा कलकारखाना, उद्योग तथा निर्माणसम्बन्धी काम हुने स्थानमा भगवान विश्वकर्माको तस्वीर वा मूर्ति स्थापना गरी विधिपूर्वक पूजाआराधना गरिन्छ ।
विश्वकर्मा पूजाका लागि नेपालगन्जका विभिन्न कलकारखाना तथा वर्कसपलाई सजाउने, सरसफाइ गर्ने र पूजाको तयारी गर्ने क्रम चलेको छ । श्रमिक तथा कालिगढहरूले आफ्नो काममा प्रयोग हुने औजार, मेसिन तथा उपकरणको पूजा गरी विश्वकर्मा दिवस मनाउने गर्छन् ।
धार्मिक विश्वासअनुसार यस दिन औजार तथा उपकरणको पूजाआराधना गरेमा तिनको आयु बढ्ने, कामका क्रममा बिग्रिने समस्या कम हुने तथा राम्रो काम गर्न सकिने विश्वास छ ।पूजाका लागि स्थापना गरिएका बालुवा तथा अन्य सामग्रीबाट निर्मित विश्वकर्माका मूर्तिहरूलाई पूजापश्चात् नजिकका नदी वा अन्य शुद्ध स्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि रहेको छ।
नेपालगन्जमा पनि विश्वकर्मा पूजालाई लक्षित गरी विभिन्न स्थानमा भगवान विश्वकर्माका मूर्ति तथा तस्वीर सजाएर पूजाको गरिएको छ।