सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया पठाउने तयारी गरिएको ठूलो परिमाणको चुरोट प्रहरीले बरामद गरेको छ। विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको कार्गो कम्प्लेक्समा गरिएको सुरक्षा जाँचका क्रममा एक हजार प्याकेट अवैध चुरोट फेला परेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार नियमित जाँचका क्रममा दुईवटा कार्टुन शङ्कास्पद देखिएपछि खोल्दा चुरोट भेटिएको थियो। उक्त चुरोट नयाँ बजारस्थित स्काई किङ लजिस्टिक प्रालिका सञ्चालक सुवास कुँवरमार्फत अस्ट्रेलिया पठाउने तयारी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यसैगरी, गौश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट अस्ट्रेलिया पठाउन लागिएको अर्को कार्गो सामग्रीमा पनि चुरोट भेटिएको छ। सगुन खड्काले कमलराज कार्कीको नाममा पठाउन लागेको उक्त सामान जाँचका क्रममा शङ्कास्पद देखिएपछि थप परीक्षण गरिएको थियो। थप जाँच गर्दा सो सामग्रीभित्र ‘शिखर आइस रश’ चुरोटका १५ बण्डल फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार बरामद चुरोट आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।