उपचारका लागि सहर धाउनुपर्ने बाध्यता घटाउँदै राप्तीसोनारी अस्पताल

आइतबार, भदौ २८, २०८३

राप्तीसोनारी । रातको समयमा गाउँमा कोही बिरामी परेपछि उपचारका लागि सवारी खोज्दै कोहलपुर वा नेपालगञ्ज पुग्नुपर्ने बाध्यता राप्तीसोनारीका स्थानीयवासीका लागि लामो समयदेखिको समस्या थियो। प्रसूति व्यथामा परेका महिलाले समेत समयमै स्वास्थ्य संस्था पुग्न घण्टौँ यात्रा गर्नुपर्ने अवस्था थियो ।

अब भने राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमै चौबीसै घण्टा स्वास्थ्य सेवा सुरु भएको छ । राप्तीसोनारी अस्पतालले स्थानीयलाई नियमितसँगै आकस्मिक स्वास्थ्य सेवा दिन थालेपछि उपचारमा सहजता थपिएको हो ।

अहिले अस्पतालमा एक चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मी कार्यरत छन् । सामान्य उपचार र आकस्मिक सेवाका साथै प्रसूति तथा बाल स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराइँदै आएको छ ।

अस्पतालमा आकस्मिक सेवाका साथै अन्य सेवा  नियमित रुपमा सुरु भएसँगै तत्काल उपचार आवश्यक पर्ने बिरामीलाई टाढाको स्वास्थ्य संस्था लैजानुपर्ने अवस्थाबाट राहत मिल्ने अपेक्षा गरिएको छ । विशेषगरी दुर्घटना, सर्पदंश, आकस्मिक बिरामी तथा प्रसूतिको समयमा देखिने जटिलतामा स्थानीयस्तरमै स्वास्थ्यकर्मीको पहुँच महत्वपूर्ण हुने गाउँपालिकाको भनाइ छ ।

सेवालाई अहिलेको अवस्थामै सीमित नराख्ने तयारी गाउँपालिकाको छ । आगामी असोजदेखि प्रसूतिको शल्यक्रियासहित केही अन्य शल्यक्रिया सेवा थप गर्ने योजना बनाइएको छ ।

विशेषज्ञ चिकित्सकको सेवा पनि गाउँमै उपलब्ध गराउने तयारी भइरहेको छ । त्यसका लागि भेरी अस्पतालसँग सहकार्य गरेर त्यहाँ कार्यरत विशेषज्ञ चिकित्सकलाई मासिक रूपमा राप्तीसोनारी अस्पतालमा ल्याउने योजना गाउँपालिकाले अघि बढाएको छ ।

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले अस्पताल सञ्चालनलाई पहिलो चरणका रूपमा लिँदै अब सेवा विस्तारमा ध्यान केन्द्रित गरिने बताए । स्थानीयले भरपर्दो स्वास्थ्य सेवा पाउने वातावरण बनाउन आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार क्रमशः थप गर्दै जाने उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालका अनुसार अस्पताललाई प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न जनशक्ति, औषधि तथा उपकरणको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ४ का वडाध्यक्ष मिनराज खड्काले अस्पताललाई नामका लागि मात्र नभई स्थानीयको विश्वास जित्ने गरी सञ्चालन गर्नुपर्ने बताए ।

चौबीसै घण्टा सेवा, आगामी दिनमा थप हुने शल्यक्रिया तथा विशेषज्ञ चिकित्सकको पहुँचले राप्तीसोनारीका बासिन्दाको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । यी सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न सके सामान्यदेखि जटिल स्वास्थ्य समस्याका लागि कोहलपुर र नेपालगञ्ज पुग्नुपर्ने स्थानीयको बाध्यता क्रमशः घट्ने देखिन्छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ११:५५
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह